काँग्रेसले निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने

  • ४ चैत्र २०७३, शुक्रबार
  • गोपाल छन्त्याल
  • 1823 पटक पढिएको

म्याग्दी,४ चैत । नेपाली काँग्रेस म्याग्दीले निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बेनीमा बसेको वैठकले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जिल्लाका एक नगरपालिका सहित पाँच वटै गाउँपालिकामा टोली परिचालन गर्ने निर्णय गरेको हो ।
काँग्रेसका सभापति खमबीर गर्बुजाले बेनीनगरपालिकामा पार्टीका सचिब हरिकुमार श्रेष्ठ, जिल्ला सदस्य एवँ महाधिवेशन प्रतिनिधी क्या. डमबहादुर पुन, रघुगंगा गाउँपालिकामा जिल्ला सदस्य केवी भण्डारी, धौलागिरि गाउँपालिकामा जिल्ला सदस्य तथा महाविधेशन प्रतिनिधी तमबहादुर थापा, मंगला गाउँपालिकामा जिल्ला सदस्य गोपाल भट्टचन र मालिका गाउँपालिकामा रेक बुढालाई संयोजकको जिम्मेवारी दिईएको जानकारी दिए ।

टोलीमा सम्बन्धित नगर तथा गाउँपालिकामा रहेका जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधी, भातृ संस्थाका प्रतिनिधीहरु सदस्य हुनेछन् । पार्टी सभापति गर्बुजाले निर्वाचनलाई लक्षित गरि पहिलो चरणमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘टोलीलाई यहि चैत्र १६ गते भित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन जारी गरेका छौँ, त्यसपछि अर्को चरणको अभियान सञ्चालन हुनेछ’, उनले भने । वैठकले जिल्ला सदस्य क्या. मिनबहादुर कार्कीलाई सचिबमा मनोनित गरेको छ ।
जिल्ला अधिवेशन भएको एकबर्ष भईसकेपनि काँग्रेस जिल्ला कार्य समितिले अझै पूर्णता पाउन सकेको छैन । उपसभापति र सहसचिब केहि दिन भित्रै टुगो लगाउने काँग्रेसले जनाएको छ ।

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l