दृष्टिबिहीन विद्यार्थीलाई क्रिकेट प्रशिक्षण

  • १० जेष्ठ २०७५, बिहीबार
  • 2292 पटक पढिएको

बेनी १० जेठ । दृष्टिबिहीन विद्यार्थीहरुका लागि बेनीमा बिहीबार क्रिकेट खेल प्रशिक्षण तालीम सम्पन्न भएको छ । नेपाल नेत्रहिन क्रिकेट संघले कादुर फाउण्डेशन हङकङको सहयोगमा चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सञ्चालित दृष्टिबीहीन स्रोत कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दृष्टिबिहीन विद्यार्थीहरुको प्रतिभा पहिचान, राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरी हिनताबोध कम गराई आत्मबल बढाउने उद्देश्यले आयोजित प्रशिक्षणमा सैद्धान्तीक र ब्यवहारीक रुपमा क्रिकेट खेल सम्बन्धि सहजिकरण गरीएको थियो ।

संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ र निरज गिरीले सहजिकरण गर्नुभएको थियो । प्रशिक्षणको समापन कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले दृष्टिबिहीनहरुको फरक क्षमत्ताको सम्मान गर्नुपर्ने बताउदै लक्षित वर्गका कार्यक्रममा दृष्टि बिहीनलाई समेट्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल नेत्रहिन क्रिकेट संघका उपाध्यक्ष अमृत बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदी, स्रोत शिक्षक गणेश सुवेदी, अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र केसी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।