गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन

  • १० जेष्ठ २०७५, बिहीबार
  • 2919 पटक पढिएको


प्रताप बानियाँ /म्याग्दी,१० जेठ । बिपी चिन्तन प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बिपी चिन्तन प्रतिष्ठान म्याग्दीद्वारा प्रकाशित सरलता र आदर्शका प्रतिक गोपालनारायण भट्टचन जीवनी, विचार र योगदान विषयक पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकको विमोचन गर्दै बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष हरिबोल भट्टराईले बिपीको चिन्तनलाई अङ्गिकार गरेर अगाडि बढ्नुपर्ने बताए । उनले नेपाली कांग्रेसलाई अब साङ्गठनिक रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै पार्टीको गतिविधि सञ्चालनका लागि आफू लागिपर्ने बताएका छन् ।


गोपालनारायण भट्टचनले आफूलाई अभिनन्दन गरिएकोमा धन्यवाद दिँदै राजनीति सँगसँगै देश विकासका लागि कृषि पेशालाई अगाडि बढाउनुपर्ने बताएका थिए । कार्यक्रममा पूर्वमन्त्री सुशीलमान शेरचन, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि हरिकृष्ण श्रेष्ठले गोपालनारायण भट्टचनले खेलेको भूमिका र पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।


विमोचन गरिएको पुस्तकमाथी नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले टिप्पणी गरेका थिएभने अधिवक्ता सागरजीवी उपाध्यायले समीक्षा गरेका थिए । कार्यक्रममा सहभागी सुदर्शनकुमार श्रेष्ठ, रेखाकौशल रेग्मी, नेत्रबहादुर महत, प्रकाशकुमार श्रेष्ठ, विना खड्का, अबिरकुमार श्रेष्ठ, धनकुमारी थापा र कमल छन्त्यालले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको अवसरमा गोपालनारायण भट्टचनलाई अभिनन्दन गरिएको थियो । यसैगरी उनको जीवनीबारे लेखिएको पुस्तक म्याग्दी सामुदायिक पुस्तकालय र म्याग्दी बहुमुखी क्याम्पसमा रहेको पुस्तकालयका लागि उपलब्ध गराइएको छ । कार्यक्रम बिपी चिन्तन प्रतिष्ठान म्याग्दीका अध्यक्ष चिरञ्जीवी शर्माको अध्यक्षता, सहसचिव नवराज शर्माको स्वागत र सदस्य कोमलप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न भएको थियो ।