जाँदाजाँदै प्रनाउ खड्काले भनिन्, शान्तिसुरक्षा कायम गर्न नागरिकको सहयोग पाएँ

  • ५ जेष्ठ २०७५, शनिबार
  • प्रताप बानियाँ
  • 4643 पटक पढिएको

म्याग्दी, ४ जेठ  ।  म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले आफ्नो १५ महिने म्याग्दी बसाइका क्रममा नागरिक स्तरबाट अमुल्य सहयोग पाएको बताएकी छिन् । म्याग्दीबाट सरुवा भएर जानै लागेकी प्रनाउ खड्काले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सर्वसाधारणबाट आफूले धेरै ठूलो सहयोग पाएको बताएकी हुन् ।
उनले जिल्लाको विभिन्न स्थानमा कार्यालयबाट कार्यक्रम लिएर जाने क्रममा त्यसलाई सफल पार्नका लागि स्थानीयबाट महत्वपूर्ण सहयोग पाएको बताएकी छिन् । जुन सोच लिएर आफू जिल्लामा आएको र त्यो यथार्थमा परिणत भएको बताउँदै सफल भएको उनले दावी गरिन् । समुदायलक्षित कार्यक्रमले समाज परिवर्तनमा सहयोगी भूमिका खेलेको भन्दै उनले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको चुनाव ऐतिहासिक क्षण भएको बताएकी छिन् ।
प्रनाउ खड्काले लैङ्गिक तथा घरेलु हिंसा न्युनीकरणका लागि आफूले सक्दो पहल गरेको बताइन् । उनको कार्यकालमा स्थानीयको सहयोगमा प्रहरी कार्यालय परिसरमा महिलामैत्री भवन निर्माण, सभाहल, प्रहरीसँग आमा कार्यक्रम सञ्चालन, जुवातास नियन्त्रण, जनचेतनामूलक खालका नौला कार्यक्रमहरु सञ्चालन भएका छन् । महिला प्रहरी प्रमुख भएका कारण प्रहरीमा पीडित महिलाको पहुँच बढ्नुका साथै विभिन्न प्रकृतिका हिंसाका घटनाहरु लिखित, मौखिक र टेलिफोनमार्फत बढेको पनि बताइएको छ ।
यसैबीच शुक्रबार प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्कालाई जिल्लास्थित विभिन्न संघसंस्था र व्यक्तिले भेटघाट गरी विदाई गरेका छन् । १५ महिना पहिले म्याग्दी जिल्लाको प्रहरी प्रमुखका रुपमा जिल्लामा आएकी उनको हालै भएको सरुवापछि विदाई गरिएको हो ।
जिल्लामा क्रियाशिल कर्मचारी मिलन केन्द्र, लायन्स क्लब अफ बेनी–महारानी, महिला मानवअधिकार रक्षक सञ्जाल, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थालगायत विभिन्न संघसंस्था र व्यक्तिहरुले भेटघाट गरी मायाको चिनोसहित प्रनाउ खड्काको विदाई गरेका छन् । प्रनाउ खड्काको प्रहरी प्रधान कार्यालय काठमाडौंमा सरुवा भएको छ भने म्याग्दी जिल्लाको प्रहरी प्रमुखका रुपमा विरबहादुर बुढामगर आउँदै छन् ।

प्रताप बानियाँ