पूर्वाधार र पर्यटकको पर्खाइमा मनमोहक मालिका

  • ३ जेष्ठ २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 875 पटक पढिएको

म्याग्दी, ३ जेठ ।  घनाजंगलको बीचमा रहेको अग्लो डाँडा । नाङ्लोको फेरो झँै उत्तरतर्फ लहरै देखिने पहाड र पृष्ठभूमिका हिमाल । बिहानीमा लाली छाउँदै उदाउने सूर्य । एकै स्थानबाट म्याग्दीका अधिकांश भूभाग देख्न सकिने । दर्शन, पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास । धार्मिक तथा पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दीको मालिका धुरीको मुख्य विशेषता हुन् यी । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगंगा गाउँपालिका–६ ठाडाखानीको शिरमा रहेको मालिका समुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ ।

बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु र पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्वसमेत रहेको छ । “मालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको संगम हो,” रघुगंगा–६ का भेषकुमार शेरपुञ्जाले भन्नुभयो, “एकै स्थानबाट धेरै किसिमका दृश्यावलोकन गर्न पाउनु यहाँको विशेषता हो ।”मालिकाबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाको लहरै दृश्य देखिन्छ । यहाँबाट सूर्योदय र म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ । मालिका क्षेत्रको जंगलमा पाइने लालीगुराँस, वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार यहाँको थप आकर्षण हो ।

चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटिका र बालाचतुर्दशीमा विशेष मेला लाग्ने मालिकाको पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन रहेको मालिका–७ बिमका कुलबहादुर विकले बताउनुभयो । “सन्तान प्राप्ति, धन आर्जन, पारिवारिक सुख, रोजगारी आदिको अपेक्षा राखेर मालिकासँग वर माग्ने गरिन्छ,” विकले भन्नुभयो – “मैले मागेको वर पूरा भएपछि बोकाको बलि दिएर भाकल पूरा गरँे ।” म्याग्दी, बागलुङ, पर्वत, कास्की लगायतका ठाउँबाट वर्षको चार दिन पूजाआजाका लागि आएका भक्तजनको चहलपहल हुने मालिका अरू बेला सुनसान हुन्छ । यस स्थानमा हिन्दू धर्मावलम्बीका भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंवदन्ती छ ।

मालिकाको धार्मिक विषयमा अन्य किंवदन्तीसमेत रहेका छन् तर, खोज–अनुसन्धान हुन सकेको छैन । भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । पछिल्लो समय बलिको विकल्पमा नरिवलसमेत चढाउन थालिएको छ । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ । सुन्दर दृश्य अवलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटकको पाइला भने पर्न सकेको छैन ।सहज पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा पर्याप्त प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको मालिका गाउँपालिका–७ बाइन्दफाँटका चन्द्र जुक्जालीले बताउनुभयो । मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओडारमा कष्टप्रद रूपमा रात कटाउन बाध्य छन् ।

खानेपानीको सहज सुविधा छैन । चिसोका कारण राति १२ बजेदेखि नै पूजा गरेर घर फर्कन भक्तजनको हतारो हुन्छ । बेनीदेखि पैदल दुई दिन र सवारी साधन प्रयोग गर्दा एकै दिनमा मालिका पुग्न सकिन्छ । ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ । “सत्तलको सरसफाइ, आवास व्यवस्थापन र भक्तजनको सुरक्षामा कसैको ध्यान पुगेको छैन्,” बागलुङबाट आउनुभएका रेखा पुनले भन्नुभयो, “धुलैधुलो भएको सत्तलमा प्लास्टिक बिछ्याएर बस्नुप¥यो । चिसो र असुविधाले बस्नै गाह्रो भयो । सरोकारवालाको बेवास्ताका कारण भक्तजनले दुःख पाएका छन् ।”

जुक्जालीले भन्नुभयो, “वडा, स्थानीय तह, प्रदेश र संघीय सरकारले अब यहाँको पूर्वाधार विकासमा प्राथमिकता तथा समुदायले सक्रियता देखाउन आवश्यक छ ।” केही भक्तजनले मालिकामा निजी लगानीमा सत्तल निर्माण र खानेपानी सुविधाको व्यवस्था गरिदिएका छन् । बुटवलका भरत छन्त्याल र ठाडाखानीका खिममाया छन्त्यालले निजी लगानीमा पाइपमार्फत मालिकाको सत्तलसम्म खानेपानी पु¥याइदिनुभएको छ । तर व्यवस्थापनको कमजोरीले नियमित पानी आपूर्ति हुन सकेको छैन । पहाडी भूगोलमा साँघुरा बाटोमा जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ । रेलिङसहितको फराकिलो पदमार्ग बनाउनु आवश्यक देखिन्छ ।

ठाडाखानीका बुद्धिप्रसाद छन्त्यालले निजी लगानीमा दुई वटा सत्तल बनाउनुभएको छ । दुई वटा शौचालय पनि बनाइएका छन् । बिमका ४९९ घरधुरीले नौ दिनका दरले श्रमदान गरेर बिमदेखि मालिकासम्म पुग्ने पदमार्ग र सत्तल बनाएका छन् । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयले ७०० सय मिटर पाइप र एक हजार लिटरको ड्रम उपलब्ध गराइदिएको थियो ।

विसं २०६८ मा स्थापना भएको मालिका क्षेत्र विकास कोषले पूजा व्यवस्थापनका साथै मन्दिर, पदमार्ग र सत्तल निर्माण गरेको छ । मालिका र रघुगंगा गाउँपालिकामार्फत अन्य सरकारी निकायमा समन्वय गरेर थप पूर्वाधार निर्माणका लागि पहल गरिएको कोषका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो । पर्यटन मन्त्रालयको पाँच लाख र तत्कालीन जिविसको दुई लाख रुपैयाँको सहयोगमा मालिका मन्दिर निर्माण भएको थियो । मन्दिरको मर्मत र रंगरोगनको तयारी हुँदैछ ।

मालिका गाउँपालिकाले पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । सडक विस्तार र पदमार्गमा रेलिङ राख्ने योजना छ ।

रघुगंगा गाउँपालिकाले विनियोजन गरेको रु तीन लाखमा ठाडाखानीका बासिन्दाले करीब तीन किलोमिटर पदमार्ग निर्माण गरेका पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । मालिका गाउँपालिका र वडा कार्यालयले बाइन्दफाँटदेखि बिमबाङसम्म सडक पु¥याएको बिमका वडाध्यक्ष रेशम जुक्जालीले बताउनुभयो । सडक निर्माणका लागि मालिका गाउँपालिकाले रु आठ लाख विनियोजन गरेको थियो ।

पर्यटन मन्त्रालयले बेनी–जगन्नाथ–टोड्के–मालिका–धौलागिरि आधार शिविर जोड्ने पदमार्ग सञ्चालन गर्ने उद्देश्यसहित ठेक्कामार्फत करोडाँैका योजना सञ्चालन गरे पनि पारदर्शी, प्रभावकारी र गुणस्तरीय काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । मालिकालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न व्यवस्थित पदमार्ग, आवास सुविधाका लागि नजिकैका बस्तीमा होमस्टे, सामुदायिक विश्रामगृहको व्यवस्थासँगै धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । सत्तलमा काठ बिछ्याउने, पूजाआजाका लागि भक्तजन आउने समयमा सामुदायिक विश्रामगृह सञ्चालन गर्ने र सुरक्षित पदमार्ग निर्माणमा प्राथमिकता दिनुपर्ने आम राय पाइन्छ ।

सन्तोष गौतम