भुरुङ्ग तातोपानीका बाढी पिडितलाई राहत वितरण

  • २ जेष्ठ २०७५, बुधबार
  • सन्तोष गौतम
  • 2070 पटक पढिएको

म्याग्दी २ जेठ । जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीले अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीका बाढी पिडितलाई मंगलबार राहत उपलब्ध गराएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको टोलीले घटनास्थलमै पुगेर आकस्मीक राहत रकम वितरण गरेको हो । घर पूर्ण क्षत्ती पुगेका ४ घरपरिवारलाई दश दश हजार र आंशिक क्षत्ती पुगेका १३ परिवार तथा व्यवसायीलाई पाँच हजार रुपैयाका दरले राहत उपलब्ध गराइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ अधिकारी, गाउँपालिका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष ओमप्रकाश फगामी, कार्यपालिका सदस्य आत्मा तुलाचन, वडा सदस्य वुद्धी पुन, प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का, श्रीबक्स गुल्मका सेनानी अनिलकुमार बुढाथोकी, जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदी, बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल र कोष तथा लेखा नियन्त्रक छविन्द्र बेल्वासेले राहत रकम वितरण गर्नुभएको थियो ।

भुरुङ तातोपानी बजारको माथि रहेको टिम्लाखर्क खहरेखोलाबाट आईतबार दिउँसोको भिषण बर्षापछि आएको बाढीले बालकृष्ण मिजार, लटे गिरी, देवलकुमारी कर्माचार्य र देवेन्द्र भट्टचनको घरटहरा र पसलमा पूर्ण क्षत्ती गरेको थियो । यसैगरी दशरथकुमार कर्माचार्य, धावा तामाङ, रजिया खातुन, टेकनारायण पौडेल, गोबिन्द पूर्जा, टकु पुन, रिता शेरचन, पाल्टेन गुरुङ, सिताराम गुरुङ, प्रेम रन्तिजा, गंगमान सुनार, वुद्धीसिरी शेरचन लगायत १३ जनाको घर टहरामा भलबाढी पसेर क्षत्ती पु¥याएको छ । बाढीले करिब एक करोड रुपैया बराबरको क्षत्ती गरेको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख नेत्र पोखरेलले बताउनुभयो ।

गाउँपालिकाले एक्साभेटर प्रयोग गरेर बस्तीमा थुप्रिएको हिलो पन्छाउने काम गरिएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । जोखिम न्युनीकरण र थप क्षत्ती हुन नदिनका लागि ग्यावियन पर्खाल लगाउन जिल्ला विपद् ब्यवस्थापन समिति मार्फत जलउत्पन्न प्रकोप ब्यवस्थापन डिभिजन कार्यालय बागलुङमा पहल गरिएको छ । निश्चित समय अवधिसम्म गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको अध्यक्ष पुनले बताउनुभयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुन र वडा अध्यक्ष फगामीको हस्ताक्षर रहनेगरी बाढी पडितलाई सहयोग जुटाउन गरिमा विकास बैङ्कको पोखरेबगर शाखामा खाता खोलेर सहयोग संकलन अभियान सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले बताउनुभयो । हालैको बाढीले गरेको क्षत्ती र आगामी दिनमा हुन सक्ने विपद्को व्यवस्थापन तथा राहतका लागि ०२२१००७०६९६००००००१ नम्बरको बैङ्क खातामा रकम जम्मा गरीदिन अध्यक्ष पुनले आव्हान गर्नुभएको छ ।

सन्तोष गौतम