बेनीमा पर्यटकीय सम्भावनाबारे अन्तरक्रिया

  • ३१ बैशाख २०७५, सोमबार
  • 2959 पटक पढिएको

म्याग्दी, ३१ वैशाख । म्याग्दी जिल्लाको पर्यटकीय क्षेत्रको विकास र सम्भावनाबारे अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार बेनीमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम बेनीको कालीपुलस्थित पर्यटक सूचना केन्द्रमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले नेपाल चीन जोड्ने कोरला नाकाको स्तरोन्नतिसँगै म्याग्दीको मात्र नभई यस क्षेत्रकै पर्यटकीय विकासको सम्भावना भएको धारणा राखेका थिए ।

पत्रकारहरुको क्षमता विकासका लागि महासंघ केन्द्रले तालिमको सोच बनाइरहेको जानकारी दिँदै केन्द्रीय सदस्य ज्ञवालीले सञ्चारमाध्यमहरुले पनि परम्परागत रुपले अघि बढ्ने भन्दा व्यावसायिक बन्नुपर्ने विचार व्यक्त गरेका छन् । सोही अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले चार नम्बर प्रदेशका पत्रकारको दक्षता अभिवृद्धि गर्नेगरी बजेट माग गरिएको जानकारी दिँदै यसले पत्रकारहरुको दक्षता वृद्धि हुने अपेक्षा गरे ।

म्याग्दी जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी दिँदै महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले लोकतन्त्र, शान्ति, संविधान, तीन तहको निर्वाचनपछि अब मिडियाको मिसन के हुने भन्नेबारे दिशानिर्देश नभएको विचार राखेका थिए । खस्किँदो विज्ञापन बजार र तीव्र प्रतिस्पर्धाका कारण जिल्लामा सञ्चालित सञ्चारमाध्यम र तिनमा क्रियाशील पत्रकारलाई टिकाउनुपर्ने चुनौती पैदा भएको बताउँदै शर्माले विकासको मोडेल वा समृद्धिका बारेमा पनि मिडियाले आफ्नो धारणा बनाउनु पर्ने समय आएको धारणा राखेका थिए ।

त्यस्तै महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले चार नम्बर प्रदेशको लाइफलाइन मानिएको कोरला नाका, मुक्तिनाथ क्षेत्र, लोमन्थाङ क्षेत्रको अध्ययन भ्रमण गर्ने र सम्बन्धित जिल्लाका पत्रकारसँग अन्तरक्रिया गर्ने उद्देश्यले अध्ययन भ्रमणको आयोजना गरिएको जानकारी दिए ।
यसअघि कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै पर्यटक सूचना केन्द्र, बेनीका संयोजक राजेश शाक्यले पहिलो चरणमा म्याग्दी जिल्लामा रहेका पर्यटकीय एवं धार्मिक क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्षको आयोजना गरिएको बताए । म्याग्दी उद्योग वाणिज्य संघ द्वितीय उपाध्यक्षसमेत रहेका शाक्यका अनुसार म्याग्दी पर्यटन वर्ष सम्पन्न गर्नका लागि ६७ लाख रुपैयाँको बजेट तर्जुमा गरिएको छ । चार नम्बर प्रदेशको विकासको सम्भावना र महासंघका शाखासँग अन्तरक्रिया गर्ने उद्देश्यले वैशाख २८ गते मुस्ताङ पुगेको पत्रकारहरुको उक्त टिमसँग अन्तरक्रिया आयोजना गरिएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव गोरखनाथ सुवेदीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले गरेका थिए । अन्तरक्रियामा बोल्दै उपाध्यक्ष कटुवालले म्याग्दी भ्रमण वर्षलाई सफल बनाउन जिल्लादेखि केन्द्रीय तहसम्मका सञ्चारमाध्यमको सहयोग चाहिएको भन्दै प्रदेशको राजधानी पोखराको समेत यसमा सकारात्मक सहयोग रहने अपेक्षा गरेका थिए ।

कार्यक्रममा सहभागी पत्रकारहरुलाई म्याग्दी भ्रमण वर्ष–२०७५ को प्रचारप्रसारका लागि तयार गरिएका ब्रोसर, टिसर्टलगायतका सामग्री हस्तान्तरण गरिएको थियो ।  पत्रकार महासंघ म्याग्दी शाखाले आयोजना गरेको अन्तरक्रियाको व्यवस्थापनमा म्याग् दी उद्योग वाणिज्य संघले सहयोग गरेको हो ।