एक्याप लोमान्थाङको स्थापना दिवस मनाईयो

  • ३१ बैशाख २०७५, सोमबार
  • 2319 पटक पढिएको

मुस्ताङ, ३१ वैशाख । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थाङ मुस्ताङले ३१ औं स्थापना दिवसको उद्घाटन समारोह ध्ये प्राङ्गण लोमान्थाङमा सम्पन्न गरेको छ । ध्ये प्राङगणबाट प्रभात फेरि सुरु भइ लोमान्थाङ बजारको परिक्रमा गरि सोही स्थानमा आइ औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण कुमार विष्टले सबै पक्षहरुको सामुहिक प्रयासले वातावरणीय संरक्षणमा प्रभावकारी भूमिका कायम गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै अतिथि एवम् लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार अर्यालले स्थानीय जनसमुदायको समग्र पक्षको वृहत्तर हितमा एक्यापको भुमिका अनुकरणीय रहेको बताउनुभएको थियो ।

विशेष अतिथि लोघेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छेम्वेल विष्टले जलविद्युतको उत्पादन तथा प्रयोगको माध्यमबाट वन क्षेत्रको संरक्षण गरि वातावरण सन्तुलन कायम गर्न सकिने बताउनुभयो । कार्यक्रमका सभापति एवम् एक्याप लोमान्थाङका कार्यालय प्रमुख तथा संरक्षण अधिकृत तुलसी प्रसाद दहालले निर्वा्चित जनप्रतिनिधिले सरोकारवाला पक्षहरुको अभिभावकत्व ग्रहण गरेमा वातावरणीय संरक्षणको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

विभिन्न विद्यालयको सांस्कृतिक प्रदशनि सहित सम्पन्न कार्यक्रममा अन्तर विद्यालय निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगीहरुले आफ्नो निबन्ध वाचन गरेका थिए । श्रीकृष्ण न्यौपानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रामबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।