प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

  • १० बैशाख २०७५, सोमबार
  • कमल खत्री
  • 3742 पटक पढिएको

म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि मात्रै खर्च नगरि गाउँको शिक्षा, स्वास्थ्य, खेलकुद, सडक लगायतको विकास निर्माणमा समेत खर्चिने गरेका छन् ।

विविध कारणले जन्मथलो बेगखोला भन्दा बाहिर बस्दै आएका स्थानीयले बेगखोला कल्याणकारी समाज मार्फत गोलबद्ध बनेर गाउँमा विकास निर्माण र सामाजिक क्षेत्रमा सहयोग जुटाउने गरेका हुन् । पछिल्लो समय बेगमा रहेको महादेव माविको स्वर्ण जयन्तीको अवसरमा प्रवासी बेगखोलाबासीहरुको नेतृत्वमा विद्यालय भवन पुनः निर्माण गर्न थालिएको छ । प्रवासमा रहेका बेगखोलाबासीले सामाजिक सञ्जाल फेसबुक लगायतको माध्ययम मार्फत विद्यालय स्थापना भएको ५० औँ बर्ष पुरा भएको अवसरमा विद्यालय पुनःनिर्माणको लागि आर्थिक संकलन गरेका हुन् ।

अभियान अन्र्तगत अहिलेसम्म विद्यालय पुनःनिर्माणको लागि रु १ करोड ३३ लाख संकलन भैसकेको अभियानका सचिब नक्कु (नगेन्द्र) पुर्जाले बताउनुभयो । रु ५ लाख भन्दा बढी सहयोग गर्ने दाताहरुको नामबाट कक्षाकोठाको नामाकरण गर्ने गरि अभियान चलाईएको र विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलाबासीहरु कोही पनि नछुट्ने गरि आर्थिक सहयोग अभियानमा सहभागीता जनाउने क्रम जारी रहेको पुर्जाले जानकारी दिनुभयो । अभियान अन्र्तगत करिब रु २ करोड आर्थिक संकलन गरि हाल जिर्ण रहेको विद्यालय भवनलाई पुनःनिर्माण गरिने अभियन्ताहरुको योजना छ ।

बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, मलेसिया, कतार, अरब, अमेरिका लगायतका मुलुकमा पुगेका बेगखोलाबासीहरुले अहिले गाउँको विकास निर्माण र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । एनआरएनए बेलायतका अध्यक्ष समेत रहेका बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले विद्यालयको स्वर्ण जयन्तीलाई उपलब्धीमुलक तवरले मनाउने उदेश्य अुनसार प्रवासमा रहेका बेगखोलाबासीहरुको पहलमा विद्यालय पुननिर्माण अभियान सञ्चालन गरिएको बताउँछन् । ‘‘ हामीले यस अघि गाउँमा सडक सञ्जाल विस्तार गर्न, खेलमैदान स्तरोन्नती गर्न, विद्यालयमा शैक्षिक गुणस्तर सुधारको लागि अक्षयकोष स्थापना लगायतको क्षेत्रमा पनि ठुलो रकम भित्र्याइसकेका छौँ,’’–फगामीले भन्नुभयो ।

प्रवासमा हुने कमाइबाट जन्मथलोको विकास संगै स्वदेशमा लगानीको लागि समेत बेगखोलाबासीहरु जुटेको उहाँको भनाई छ । ‘‘एक प्रवासी, एक स्वदेशी रोजगारि’को लागि समेत सम्भाव्यता अध्ययन थालिएको र निकट भविश्यमै स्वदेशमै आयआर्जन हुने खालका योजनामा लगानी भित्र्याउने उहाँले बताउनुभयो । फगामीका अनुसार, पछिल्ला केही बर्षमा मात्रै सडक निर्माण, खेलकुदै मैदान पुननिर्माण, विद्यालयमा अक्षयकोष, कला संस्कृति संरक्षणको लागि सहयोग लगायतको क्षेत्रमा प्रवासी बेगखोलाबासीले रु ३ करोड बढी रकम गाउँमा भित्र्याएका छन्

बेनी –जोमसोम सडकखण्ड अन्र्तगत बेगखोलादेखि बेग र तिप्ल्याङदेखि बाँदुक गाउँमा सडक सञ्जाल निर्माण गर्ने क्रममा समेत प्रवासी बेगखोलाबासीहरुकै पहलमा रु १ करोड २५ लाख रकम संकलन गरि करिब १३ किलोमिटर सडक निर्माण गरिएको थियो । प्रवासबाटै आर्थिक संकलन गरि बेग, सिम र बाँदुक गाउँमा रहेका क्लबहरुको खेलमैदान ढलान गर्ने योजनामा समेत लाखौँ सहयोग जुटेको थियो । बाँदुक गाउँमा जन्मिएका दोस्रो विश्व युद्धमा अद्धितिय युद्धकला प्रदर्शन गरे बापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रम पाएका स्वर्गिय तुलबहादुर पुनको परिवार र अन्य प्रवासी स्थानीयबासीको पहलमा बाँदुक गाउँमा विकास निर्माण र सामाजिक कार्यको लागि लगानी भित्रने गरेको छ ।

तिल्याङमा रहेको कालिका आधारभुत विद्यालयमा १० कोठा भएको भुकम्प प्रतिरोधात्मक भवन समेत सरकारी लगानी विना नै निर्माण गरिएको छ । भिसी पुनका परिवारको पहलमा बेलायती नागरिक (नायिका) जोहना लुम्लीको करिब रु ४६ लाख लगानीमा उक्त भवन बनेको थियो । साविकको बेगखोला गाविसभित्र रहेका विद्यालयहरुमा समेत प्रवासीहरुकै पहलमा पूर्वाधार बन्ने गरेको छ । गाउँको विकास र प्राकृतिक रुपमा आईपर्ने समस्याहरुमा प्रवासमा रहेका बेगखोलाबासीहरुले सामुहीक रुपमा सहयोग जुटाउने गरेको बेगखोला कल्याणकारी समाज हङकङका अध्यक्ष गिरि शेरबुजाले बताउनुभयो । यहाँका सबै जसो गाउँका खेलमैदान प्रवासीहरुकै पहलमा आर्थिक संकलन गरि स्तरोन्नती र ढलानी गरिएको छ ।

महादेव माविमा शैक्षिक गुणस्तर सुधारको लागि समेत प्रवासीहरुले अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा एसईईमा उर्तिण हुने विद्यार्थीहरु, उत्कृष्ट शिक्षक, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार र छात्राबृत्ति प्रदानको साथै विद्यालयमा निजी स्रोतका शिक्षकको तलब र कम्युटर शिक्षाको निरन्तराको लागि विभिन्न कोषमा गरि करिब रु २५ लाख रकमको अक्षयकोष समेत प्रवासीहरुबाटै जुटेको प्रधानध्यापक धनबहादुर फगामीले बताउनुभयो । ‘‘ यहाँ कम्युटर शिक्षाको लागि आबश्यक पर्ने सामाग्री खरिदमा समेत प्रवासीहरुले नै सहयोग गर्दै आएका छन्, हालै युकेमा बस्नुहुने पदमबहादुर पुर्जाले यस विद्यालयलाई १४ वटा कम्युटर र ल्यापटप उपलब्ध गराउनुभएको छ, अन्य व्यक्तिहरुले पनि सहयोग गर्दै आउनुभएको छ ’’– प्रअ फगामीले भन्नुभयो ।

विदेशमा बगाएको पसिनाबाट हुने आम्दानीलाई बेगखोलाबासीले गाउँको विद्यालय भवन, खेलमैदान, सडक, स्टेज, लगायतका पूर्वाधार निर्माणमा करोडौँ भित्र्याइसकेका छन भने गाउँमा आईपर्ने दैपि प्रकोप पिडित, विरामी भएर उपचार गराउन नसकेकाहरुलाई समेत आर्थिक सहयोग गर्दै आएका छन् । उनीहरुको सामाजिक क्षेत्रमा गाउँमा मात्रै नभएर जिल्ला र अन्य ठाउँमा समेत आईपर्ने समस्याहरुमा सहयोगको सहभागीता अग्र स्थानमा छ । प्रवासी बेगखोलाबासीहरुकै नेतृत्वमा पुनःनिर्माण हुन लागेको महादेव माविको भवन शिलन्यास गर्न हालै बेग पुगेकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले प्रवासमा आफुले गरेको पौरखबाट हुने कमाइलाई जन्मथलोको विकासमा खर्च गर्नु उच्च प्रसंसनिय कार्य भएको बताउनुभयो ।

‘‘ आफु जहाँ भएपनि जन्मगाउँको विकासमा योगदान गर्ने बेगखोलाबासीको प्रयास अनुसरणयोग्य छ, मुलुकको विकास र समृद्धिमा प्रवासीहरुको साथ र सहयोगको लागि सरकारले उच्च सम्मान गर्दछ, प्रवासी बेगखोलाबासीले विकास र सामाजिक क्षेत्रमा गरेको लगानीको शिक्षा अन्य ठाउँको लागि पनि शिकाई हुने देखियो,’’–मन्त्री थापाले भन्नुभयो । प्रवासीहरुबाट गाउँमा भित्रने सहयोग र लगानीलाई पारदर्शी रुपमा सम्बन्धित क्षेत्रमै परिचालन गरिने भएकाले बर्षेनी गाउँको विभिन्न क्षेत्रमा सहयोग आउने क्रम बढ्ने गरेको वडा सचिब बिल बहादुर फगामी बताउँनुहुन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l