दृष्टिविहिन विक दम्पतीको छोरीलाई व्यवसायी विश्वकर्माले गराए भर्ना

  • ९ बैशाख २०७५, आईतवार
  • 2135 पटक पढिएको

म्याग्दी, ९ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–७ घर भएर हाल पर्वतको लामाखेतमा बस्दै आएका दृष्टिविहिन दम्पती जलन र सुस्मीता विकको छोरीलाई बेनीका एक व्यवसायिले विद्यालयमा भर्ना गरिदिनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका व्यवसायी जीवन बहादुर विश्वकर्माले दृष्टिविहिन विक दम्पतीकी जेठी छोरी निरुताको अभिभावकत्व लिँदै अध्ययनको लागि बेनी स्थित प्रकाश माविमा भर्ना गर्नुभएको हो ।


व्यवसायी विश्वकर्माले निरुतालाई आबश्यक पर्ने पोशाक, स्टेशनरी लगायतका सामाग्री उपलब्ध गराएर मासिक रु १ हजार खाजा खर्च समेत दिने गरि सहयोग गर्नुभएको विद्यालयका प्रधानध्यापक हरिकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

१२ बर्षिय निरुतालाई आईतवार कक्षा ६ मा भर्ना गरिएको छ । आर्थिक रुपमा विपन्न र बाबा आमा नै दृष्टिविहिन रहेकाले उनको अध्ययनमा सहज गराउन आफुले सहयोग गरेको सहयोगदाता जिवनबहादुर विश्वकर्माले बताउनुभयो ।

स्टेशनरी र मासिक खाजाखर्च संगै अध्ययनको समयमा आइपर्ने अन्य आर्थिक खर्चमा समेत आफुले सहयोग गर्ने व्यवसायी विश्वकर्माले घोषणा गर्नुभएको छ ।