शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई तालिम

  • ८ बैशाख २०७५, शनिबार
  • 2821 पटक पढिएको

म्याग्दी, ८ वैशाख । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङमा शुक्रबारदेखि स्वास्थ्यकर्मीहरुका लागि शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो ।


शीघ्र र मध्यम कुपोषणको पहिचान गरी उपचार गर्ने उद्देश्यसहित तेस्रो चरणको तालिम आयोजना गरिएको सुआहारा कार्यक्रमले जनाएको छ । तालिममा नेपालमा पोषणको अवस्था, आपतकालीन अवस्थामा पोषण, बहुक्षेत्रीय पोषण योजना दोस्रो जानकारी, सुआहारा कार्यक्रमको परिचय, मातृशिशु तथा बाल्यकालीन पोषणको आवश्यकता, स्तनपान तथा थप पुरक खाना, व्यवहार परिवर्तन, सुक्ष्म पोषक तत्व, आयोडिन नुनको प्रयोग, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन लगायतका विविध विषयहरुमा सहजीकरण गरिने बताइएको छ ।


तीन दिनसम्म चल्ने तालिममा मंगला र मालिका गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्यचौकीमा कार्यरत १९ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । तालिमको बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर विराट शर्मा, सुआहाराका तालिम अधिकृतद्वय संयोग खतिवडा र प्रणय उदासले सहजीकरण गरिरहेका छन् । कार्यक्रममा मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बहुक्षेत्रीय पोषण योजना दोस्रोको अवधारणाबारे जानकारी गराएका थिए ।


प्राथमिक स्वास्थ्य केन्द्र दरबाङका डा. विजय अधिकारीको अध्यक्षता र मंगला गाउँपालिका स्वास्थ्य संयोजक बालकृष्ण शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुन र सुआहारा कार्यक्रमका पोषण व्यवहार परिवर्तनका लागि सञ्चार अधिकृत रेजिना चुँडालले मन्तव्य राखेका थिए ।