म्याग्दीमा पर्यटक र लगानी भित्र्याउन आग्रह

  • ६ बैशाख २०७५, बिहीबार
  • 2195 पटक पढिएको

बेनी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले झापाका उद्योगी ब्यवसायीहरुलाई म्याग्दीमा पर्यटक र लगानी भित्र्याउनका लागि सघाउन आग्रह गरेको छ । लगानीको वातावरणको अवस्थाको विषयमा अध्ययनका लागि म्याग्दी आएको दमक उद्योग वाणिज्य संघको टोलीसंग बेनीमा बिहीबार भएको अन्तरक्रियामा म्याग्दीको जलविद्युत क्षेत्रमा लगानी र आन्तरीक पर्यटक भित्र्याउन प्रस्ताव गरिएको हो ।

संघका अध्यक्ष उत्तम कर्माचार्यले दाना कुश्मा र डाँडाखेत राहुघाट प्रशारण लाईन, सब स्टेशन, बेनी दरवाङ, बेनी जोमसोम सडक स्तरोन्नतीसंगै सरकारले पूर्वाधार निर्माणमा तिब्रता दिएकाले म्याग्दीका जलविद्युत आयोजनामा लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

महासचिव लिलाराम गौतमले संघको नेतृत्वमा २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउन लागिएकाले म्याग्दीका धार्मीक, पर्यटकीय स्थलहरुको भ्रमणका लागि निम्तो गर्नुभयो ।
संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठले राजनितिक स्थिरता, स्थानीय तहमा जनप्रतिनिधि चयन र सरकारले पूर्वाधार निर्माणमा तिब्रता दिएकाले म्याग्दीको पर्यटन तथा जलविद्युत क्षेत्रको लगानी सुरक्षित हुने बताउनुभयो ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले आन्तरीक पर्यटन र लगानी प्रर्वद्धनका लागि जिल्ला तथा स्थानीय तह स्तरका उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा म्याग्दी र दमक उद्योग वाणिज्य संघको गतिबिधि, लगानीको वातावरण, उद्योगी ब्यापारीहरुको समस्या, निजी क्षेत्रले गरेका सकारात्मक कामको विषयमा अनुभव आदानप्रदान समेत गरिएको दितृय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।