महादेव मावि बेगको स्वर्ण जयन्ती ,प्रवासी बेगखोलाबासीको नेतृत्वमा विद्यालय पुननिर्माण हुने (फोटो फिचर)

  • १ बैशाख २०७५, शनिबार
  • कमल खत्री
  • 3186 पटक पढिएको

म्याग्दी, १ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको महादेव माविको स्वर्ण जयन्ती मनाउन सुरु गरिएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्ष पुरा भएको अवसरमा शनिवारदेखि विद्यालयमा विद्यालय पुननिर्माण अभियान सहित स्वर्ण जयन्ती बनाउन सुरु गरिएको हो । उक्त समारोहको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले गर्नुभएको छ । उक्त अवसरमा मन्त्री थापाद्धारा प्रवासी बेगखोलाबासीहरुको नेतृत्वमा आर्थिक संकलन गरि सुरु गर्न लागिएको विद्यालय पुननिर्माणको समेत शिलन्यास गरिएको छ ।

भवनको शिलन्यास गर्दै मन्त्री थापाले रोजगारि लगायत विविध शिलसिलामा विभिन्न मुलुकमा पुगेपनि आफ्नो जन्मथलोमा रहेको विद्यालयको पुननिर्माण गर्न लागेर प्रवासी बेगखोला बासीले रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले वर्तमान सरकार महिला, बालबालीका, जेष्ठ नागरीकहरुको अधिकारप्रती सचेत रहेको बताउँदै मुलुकको समृद्धिको अभियानमा हरेक नागरिकबाट सकरात्मक सहयोग आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा एनआरएनए बेलायतका अध्यक्ष समेत रहनुभएका बेगखोला कल्याणकारी समाजका अध्यक्ष योगकुमार फगामीले विद्यालयको स्वर्ण जयन्तीलाई उपलब्धीमुलक तवरले मनाउने उदेश्य अुनसार प्रवासमा रहेका बेगखोलाबासीहरुको पहलमा विद्यालय पुननिर्माण अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले अहिलेसम्म भवन निर्माणको लागि रु १ करोड ३३ लाख बढी सहयोग संकलन भैसकेको बताउँदै करिब २ करोड जुटाएर अहिले जिर्ण रहेको विद्यालय भवनलाई सुविधासम्पन्न भवनको रुपमा पुननिर्माण गरिने बताउनुभयो । उहाँले रोजगारी, पेशा, ब्यवसाय र अध्ययनका लागि बाध्यताले बिदेशी भुमिमा पुगेका बेगखोलाबासीहरुले आफ्नो गाउँको शिक्षा, सडक, खेलकुद क्षेत्रको विकासका लागि सहयोग भित्र्याउँदै आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा , रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बेगखोलाबासीले राज्यको लगानी विना नै ठुला ठुला योजना सम्पन्न गरि रचनात्मक कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष बिलबहादुर फगामीले सहयोगदाताहरुबाट प्राप्त सहयोगलाई दुरुपयोग नगरिकन काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुवेदार नरबहादुर तिलीजा, पूर्व प्रअ दुतबहादुर गर्बुजा, बेगखोला युवा कल्वका सचिव खिम फगामी, बेगखोला कल्याणकारी समाज युकेका युकुमार गर्बुजा, बेगखोला कल्याण्कारी समाज हङकङका अध्यक्ष गिरि शेरबुजा, विद्यालय पुननिर्माण अभियानका सचिब नक्कु (नगेन्द्र) पुर्जा लगायतले मन्तव्य राख्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरसिङ पुनको अध्यक्षता, शिक्षक हरि सुवेदी र घनकुमार फगामीको सञ्चालन तथा प्रअ धनबहादुर फगामीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्थानीयले विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । उक्त अवसरमा युकेमा रहनुभएका पदमबहादुर पुर्जाले व्यक्तिगत रुपमा १३ थान ल्यापटप विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा चन्दादाता, व्यवस्थापन समितिका पूर्व अध्यक्ष, पुर्व प्रअहरुलाई सम्मान गरिएको थियो । बेगखोलाको विकास र सम्भावनाहरुको बारेमा अन्र्तक्रिया सहित स्वर्ण जयन्ती समारोह आईतबार समापन हुने जनाइएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l