चिमखोलामा एकैदिन भुमे र मन्डली पुजा

  • २० चैत्र २०७४, मंगलवार
  • कमल खत्री
  • 3417 पटक पढिएको

म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलवार एकैदिन भुमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पुजा गरिएको छ । हरेक बर्ष चैत महिनाको अन्तिम उजेली मंगलवारका दिन परम्परागत रुपमा गरिँदै आईएका उक्त पुजाहरु गरिएको हो । चिमखोला गाउँको शिरमा रहेको ऐतिहाँसिक मन्डली थानमा आयोजित पुजामा आफ्नो मनोकामना पुरा हुने जनविश्वासले जिल्लाको विभिन्न ठाउँबाट सयौँको सख्ंयामा भक्तजनहरुको सहभागीता रहेको थियो ।

उक्त अवसरमा आफ्नो मनोकामना पुरा भएको उपलक्षमा करिब २ सय भन्दा बढी पाठीको बलि समेत दिइएको छ । मन्डली थानमा आएका भक्तजनहरुले परेवा, नरिवल लगायत चढाएर समेत पुजा गरेका थिए । मन्डली थानको महिमाको प्रचार प्रसार हुन थालेपछि हरेक बर्ष मन्डली थानमा पुजा गर्न आउनेहरुको संख्या बढेको थान संरक्षण एवम व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताउनुभयो ।

उहाँका अनुसार उक्त अवसरमा भक्तजनहरुबाट रु १ लाख भन्दा बढी दान रकम समेत संकलन भएको छ । त्यसैगरि मंगलवार नै चिमखोलाका स्थानीयले पुजा गर्दै आएको भुमेथान र ताप्केभेरामा रहेको भुमेथानमा समेत पुजाआजा गरिएको छ । भुमेथानमा साँढ र ताप्केभेरा भुमेथानमा बोका र भालेको बलि दिएर पुजा गरिएको थियो । भुमेपुजाको अवसरमा यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाईलो गर्ने प्रचलन रहेको छ ।

गाउँ सभाबाट भुमे पुजाको लागि एक महिना अघि नै छ्याङ बनाउने जाँड राख्न २० जना छेमा (महिला) छनौट गरेपछि उनीहरुले विभिन्न टोलमा छुट्टाछुट्टै समुह बनाएर प्रत्येक घरबाट २ माना कोदो, आधा माना चामल, १ सय रुपैयाँ नगद संकलन गरि कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको छ । छेमाहरुले एक महिना अघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपुर्वक चढाएर एक आपसमा खुसीयाली बनाउनको लागि खाने र भुमे देवतलाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अगेनामा आउने अंगार समेत एक अर्कालाई दलेर रमाईलो गर्ने चलन रहेको थानका पुजारी पुनराम पुनले बताउनुभयो ।

भुमेथानमा मौलिक संस्कृति अनुसार पुजा गरेपछि लोपउन्मुख अवस्थामा रहेको पुख्र्यौली सेदो गित, भैच मायाँले लगायतका गितमा नाचगान गर्दै गाउँ फर्कदाँ स्थानीय मण्डली युवा क्लबले जेष्ठ नागरिक र अगुवाहरुलाई काँधमा बोकेर सम्मान गरेका थिए भने स्थानीय आमा समुह हिमालयन आमा समुहले उनीहरुलाई अविर सहित स्वागत गरेका थिए । यसैबिच भुमेपुजाको अवसरमा चिमखोलामा विविध साँस्कृतिक एवम खेलकुद मेला समेत सुरु भएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l