गलेश्वर–काउलेगौडा सडकको स्तरोन्नती

  • १५ चैत्र २०७४, बिहीबार
  • 2628 पटक पढिएको


बेनी १५ चैत । बेनी नगरपालीका ९ को गलेश्वर देखि काउलेगौडा हुदै १० नम्बर वडा पात्लेखेत जोड्ने सडक स्तारोन्नती कार्य सुरु भएको छ । एक दशक अघि स्थानीयबासीन्दाले चन्दा संकलन गरेर ट्याक खोलेको सडक फराकीलो, घुम्ती तथा मोड सुधार, ग्रेड मिलाउने, नाली, कजवे बनाउने, पर्खाल लगाउने, सोलीङ गर्ने र नालीको भल ब्यवस्थापनका लागि ह्युम पाईप राखिएको हो ।बेनी–पाखापानी सडकको बेनी पात्लेखेत खण्डको बैकल्पीक सडकको रुपमा रहेको बेनी गलेश्वर काउलेगौडा हुदै पात्लेखेत जोड्ने सडकमा सहज रुपमा नियमित सवारी सञ्चालनको व्यवस्था मिलाउन स्तारोन्नती गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।


चालु आर्थिक वर्षमा बेनी नगरपालीकाको सहयोगमा गलेश्वर देखि काउलेगौडा सम्मको करिब तिन किलोमिटर सडक स्तारोन्नतीको काम सकिएको गलेश्वर काउलेगौडा पात्लेखेत सडक आयोजनाको उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो ।नगरपालीकाको नौ लाख ६५ हजार रुपैया अनुदान र उपभोक्ताको एक लाख ७० हजार २९४ रुपैया बराबरको श्रमदानमा स्तारोन्नतीको काम सकिएको उहाँले बताउनुभयो । यसअघि साढे तिन मिटर चाक्लो रहेको सडकलाई कम्तीमा ४ देखि साढे छ मिटर फराकीलो बनाइएको छ । सडकको कुनातर्फ कच्चि नाली बनाइएको छ ।

५० मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गरिएको छ । बार्नेखोला क्षेत्रमा ८ मिटर लामो कजवे बनाइएको छ । पाँच थान ग्यावियन पर्खाल लगाउने र नालीको भल ब्यवस्थापनका लागि ह्युम पाईप राखिएको छ । स्तारोन्नतीपछि गलेश्वरदेखि काउलेगौडासम्म ट्याक्सी र स्कुटर तथा माईक्रोबस सहज रुपमा आवत जावत गर्न सक्ने भएको छ । पाँच सय घरधुरी लाभान्वित भएका छन् । काउलेगौडाका ६३ घरधुरीले एक दिनका दरले श्रमदान गरेका थिए । १५ जनाले १५ दिनसम्म रोजगारी पाएका थिए । चैत तिस गतेसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि पन्ध्र दिनअघिनै काम सकिएको अध्यक्ष बानियाले बताउनुभयो ।

सडक विस्तारका क्रममा केही जग्गा धनीको अवरोध योजनाका लागि चुनौती बनेको थियो । वि.स २०६३ मा स्थानीयबासीले तिन लाख ७५ हजार रुपैया चन्दा संकलन गरेर गलेश्वर देखि काउलेगौडा गिठेनी हुदै पात्लेखेत जोड्ने सडक निर्माण गरेका थिए ।यो सडकमा हालसम्म ३५ लाख रुपैया लगानी भएको छ । आगामी वर्ष काउलेगौडा देखि पात्लेखेततर्फ सडक स्तारोन्नती गर्दै जाने योजना रहेको उपभोक्ता समितिका सचिव नारायण खत्रीले बताउनुभयो ।यसैबीच बेनपा ९ को सल्लेरी नरवुद्धी आधारभुत विद्यालयमा बेनपाको एक लाख अनुदान र उपभोक्ताको १८ हजार रुपैया बराबरको श्रमदानमा ४५ मिटर ढुङ्गाको सिढी सहितको पदमार्ग र ३० मिटर लम्बाई तथा नौ मिटर उचाईमा घेराबार गरिएको छ ।