वैदेशिक रोजगारिको पिडाः ‘विदेशमा तीन सन्तान गुमाउँदा बाबु आमा साहारा विहिन’

  • १४ चैत्र २०७४, बुधबार
  • कमल खत्री
  • 3930 पटक पढिएको

म्याग्दी, १४ चैत । बैदेशिक रोजगारिले यतिबेला आम नेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारिका अवसर सिर्जना नहुँदा दैनिक सयौँ युवायुवतीहरु विदेशिने गरेका छन् । अधिकाँश न्युन र मध्ययम बर्गका नागरिकरले विदेशमा परिश्रम गरि आफन्तले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाई खर्च जुटाउने गरेका छन् । तर यहाँका एक परिवारको भने वैदेशिक रोजगारिले सन्तान, सम्पती र साहरा सबै खोसेको छ । जिल्लाको मालिका गाउँपालिका–२ बेली, रुमका धन बहादुर रोका र लिलमती रोकाको परिवारले वैदेशिक रोजगारिबाट ठुलो बज्रपात खेप्न बाध्य भएका हुन् । रोका दम्पतीका तीन छोराहरुले वैदेशिक रोजगारिकै शिलसिलामा ज्यान गुमाउनुपरेको छ । सुन्दा नै मन थाम्न गाह्रो हुने ‘एकै परिवारको तीन सन्तानको प्रवासमा निधन’ भएपछि यतिबेला रोका दम्पती सन्तान, साहारा र सम्पती विहिन बनेका छन् ।


रोजगारिको शिलसिलामा मलेशियामा रहेका रोका दम्पतीका कान्छो छोरा धर्मलाल रोकाको यही चैत १० गते राती निधन भएको हो । साढे ४ बर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ बर्षिय धर्मलाल कुर्चिमै मृत अवस्थामा फेला परेका थिए । यस अघि रोका परिवारका माईला छोरा भक्त बहादुर रोकाको समेत रोजगारिको शिलसिलामै करिब १२ बर्ष अगाडी कतारमा ज्यान गएको थियो । उनको निधन भएको १८ महिनापछि फेरि जेठा छोरा तम बहादुर रोकाको मलेसियामा ज्यान गएको थियो । वैदेशिक रोजगारिकै क्रममा तीन छोराहरु गुमेपछि रोका दम्पती बिछिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ । आफुहरुको साहारा बनेर विरामी पर्दा उपचार र घरखर्च प्रवासमा रोजगारि गरि जुटाउँदै आएका काँन्छो छोरा धर्मलालको समेत विदेशमै मृत्य भएको खवरले ६५ बर्षिय आमा लिलमती र ६९ बर्षिय बुबा धन बहादुर आफुलाई सम्हाल्न नसक्ने भएका छन् ।

जेठा र माईला छोरा गुमाएको पिडालाई केही हदसम्म लुकाउन सक्ने भएको अबस्थामा फेरी कान्छो छोरा पनि गुमेपछि रोका दम्पती साहारा विहिन बनेको र आर्थिक अबस्था समेत दयनिय रहेकाले उनीहरुको बाँकी जिवन समेत अनिश्चित बनेको स्थानीय राष्ट्रिय मावि रुमका शिक्षक कृष्ण पुनले बताउनुभयो । ‘‘ यस्तो विडम्बना कसैलाई पनि आईनपरोस, सम्पती कमाउन गएको सन्तान नै गुमेपछि उनीहरुको परिवार यतिबेला दयनीय अबस्थामा छन्, काम गरेर खान सक्ने अबस्थामा नरहेका रोका दम्पतीको जिविकोपार्जनको लागि सहयोगको खाँचो छ’’– शिक्षक पुनले भन्नुभयो । सामान्य कृषि खेती गरि जिविकोपार्जन गर्दै आएका रोका दम्पती जिवनको उत्तरार्धमा सन्तान वियोगको पिडालाई सम्हाल्न बिभस छन् । रोका दम्पतीका चार भाई छोरा मध्ये तीन जनाले रोजगारिकै क्रममा प्रवासमै ज्यान गुमाएका छन् । साईला छोरा थमबहादुर रोका पनि हालै रोजगारिकै क्रममा मलेसियाबाट फर्किएर आएका हुन् ।

आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर आएका थमबहादुर भाई गुमेको पिडाले विछिप्त छन् । ‘‘ दुई दाईको पहिल्य नै दुखत निधन भएको थियो, भाई र मैले जेनतेन घरलाई सम्हालेका थियौँ, अहिले फेरी भाइको पनि अकल्पनीय घटना भयो,’’–थमबहादुरले भन्नुभयो । आफु फर्कने बेलामा भाईलाई भेट गरेको क्षण सम्झदै उनले भने ‘दशैँमा आएर घरजम गर्छु भन्थ्यो, अहिले यस्तो खवर सुन्नु प¥र्यो’ । बृद्ध अबस्थामा पुगेका बुबा आमाको स्वास्थ्य अबस्था समेत कमजोर रहेको छ ।

प्यारालाइसिसको समस्याबाट पिडित घरमुली धनबहादुरले नियमित औषधी खाँदै आएका छन् । धनबहादुरको स्वास्थ्यमा ९ बर्षदेखि हातखुट्टा झमझमाउने समस्या देखिएपछि औषधी उपचार गरि सामान्य हिँडडुल मात्रै गर्न सक्ने उनका आफन्त रामु पुनले बताउनुभयो । ‘यो परिवारले चौतर्फी रुपमा आपत विपतको सामना गर्नुपरेको छ, उनीहरुलाई आइपरेको विपत्ति टार्न त सकिँदैन, तैपनि केही सहयोग गरे दुख बाँड्न सकिन्छ, सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्छु’’–उहाँले भन्नुभयो। घरमा रहेका एक छोराको आर्थिक अबस्था समेत नाजुक रहेकाले तत्काल बृद्ध भएका उनका बुबा आमाको नियमित स्वास्थ्य उपचारको खर्च जुटाउन समेत समस्या रहेकाले सक्दो सहयोग गर्न उनले सबै मनकारी नेपालीहरुलाई आग्रह गर्नुभयो । मलेसियाबाट आफन्त र इष्टमित्रको सहयोगमा भाइको शब काठमाण्डौ आउने भएपछि अहीले थम बहादुर आफन्त र छिमेकीहरुको साथ र सहयोग लिएर गाउँबाट त्यसतर्फ गएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l