रानीपौवामा चैतेदशैँ मेला सुरु

  • १२ चैत्र २०७४, सोमबार
  • 2253 पटक पढिएको

म्याग्दी, १२ चैत । चैतेदशैँ पर्वको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । महारानी युवा क्लबको आयोजनामा सुरु भएको मेला चैत १५ गतेसम्म सञ्चालन हुनेछ । स्थानीय खेलकुद र कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले आयोजित मेलाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य विनोद केसीले युवाहरु समाज परिवर्तनको सम्बाहक रहेको भन्दै समाज सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

मेला, महोत्सवहरुले कला संस्कृतिको संरक्षण र युवाहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउँदै उहाँले युवा क्लबहरुले समाजमा रहेका विकृतिहरु हटाउन र गाउँलाई विकास निर्माण र आर्थिक समृद्धितर्फ लैजान समेत विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेकपा एमाले म्याग्दीका सचिबालय सदस्य एवम क्लबका पूर्व अध्यक्ष दिपक कार्कीले रानीपौवामा चैते देशँै मेलाको ऐतिहाँसिक महत्व रहेको चर्चा गर्नुभएको थियो ।

मेला आयोजक समितिका अध्यक्ष दिनेश कार्कीको अध्यक्षता र क्लबका उपाध्यक्ष जिवन कार्कीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उक्त मेलामा आयोजित पुरुष भलिबलमा १३ टिम र पौढ भलिबलमा ५ टिमले सहभागीता जनाएका छन् । प्रतियोगितामा बिजेता र उपबिजेता हुनेहरुलाई क्रमशः पुरुष भलिबलमा नगद रु ३५ हजार र २० हजार, महिला भलिबमा नगद रु १५ हजार र ८ हजार, बास्केटवलमा नगद रु १५ हजार र १० हजार र पौढ भलिबमा नगद रु १५ हजार र ८ हजारको साटमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । उक्त मेलामा समावेश गरिएको विविध साँस्कृतिक कार्यक्रममा गायक राजन भुजेल, जिवन कार्की अमित विश्वकर्मा, पदम विश्वकर्मा लगायत स्थानीय कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुतीहरु रहनेछ ।