विकास निर्माणको ‘पिक आवर’:सुस्त बन्यो बेनी–दरबाङ सडक कालोपत्रे योजना

  • ८ चैत्र २०७४, बिहीबार
  • 4823 पटक पढिएको

म्याग्दी, ८ चैत । विकास आयोजनाहरुको पूर्वाधार निर्माणका लागि उत्तम समय मानिएको हिउँदयाममा नै आयोजनाहरुको गति सुस्त बनेको छन् । मंसिर देखि जेठ महिनासम्मको अवधिलाई पूर्वाधार निर्माणको लागि ‘पिक आवर’ मानिन्छ । तर जिल्लामा रहेका ठुला पूर्वाधार निर्माणका योजनाहरुमा प्रयाप्त बजेट उपलब्ध नभएपछि ती योजनाको निर्माण कार्यले गति लिन सकिरहेका छैनन् । जिल्लामा सञ्चालनमा रहेको बेनी– दरबाङ सडक स्तरोन्नती योजना सुस्त गतिमा अगाडी बढेको छ ।

पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी–दरबाङ सडक खण्ड स्तरोन्नतीको लागि सञ्चालन भएको आयोजनाले समेत तिब्र गति लिन सकिरहेको छैन् । बेनी –दरबाङ सडकखण्डमा पहिलो चरणमा १४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि गत साउन महिनामै सडक डिभिजन कार्यालय बागलुङ र निर्माण कम्पनी लामा समानान्तर जेभीबीच करिब ४४ करोड रुपैयामा ठेक्का सम्झौता भएको थियो । 
तर ठेक्का सम्झौता भएको ८ महिना वितिसक्दा समेत यो सडकमा निर्माण कार्यको प्रगती भने न्युन छ । बजेट अभाव र निर्माण ब्यवसायीको ढिलासुस्तीका कारण मंगला, मालीका र धौलागिरि गाउँपालीकालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरवाङ सडक कालोपत्रेका लागि सञ्चालीत आयोजनाको काम सुस्त बनेको हो । सडक कालोपत्रे हुने खवरले पश्चिम म्याग्दीका सर्वसाधारण उत्साहित बनेपनि निर्माण कार्य भने सुस्त हुँदा समयमै योजना सम्पन्न नहुने हो की भन्ने चिन्ता बढेको दरबाङका व्यवसायि भिमप्रसाद गौतमले बताएउनुभयो । 

‘‘ निर्माण कार्यलाई गति दिएर समयमै योजना सम्पन्न गराउनुपर्छ, यो सडक प्रत्येक्ष रुपमा नगरपालिका सहित तीन स्थानीय तहसंग जोडिएको छ, सडक निर्माणमा ढिलाई हुँदा आवत जावत र सामान ढुवानीमा समेत पत्येक्ष प्रभाव पार्न सक्छ, त्यसतर्फ सम्बन्धित सरोकारवाला गम्भिर हुनुपर्छ’’–उहाँले भन्नुभयो । बेनी देखि दरवाङ सडक अन्र्तगत पहिलो चरणमा बावियाचौर सम्मको १४ किलोमिटर सडक स्तरोन्नती गरी कालोपत्रे गर्न लागिएको हो । सम्झौता भएको आठ महिना निर्माण व्यवसायीले तयारीमै गुजारेका छन् ।
गत माघदेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले सुस्त शैलीमा काम गरीरहेको छ । पहिलो चरणमा सडक फराकीलो बनाउने, रिनेटीन र ग्यावीयन पर्खाल लगाउने काम सुरु भएको छ ।

आयोजनाको तयारीको सबै जसो काम पुरा भएकाले सडक विस्तार योजनामा मजदुरहरुको संख्या बढाउने तयारी गरिरहेको समानान्तर लामा जेभीका ईञ्जिनियर सुधन रावतले बताउनभयो । अहिले दैनिक १० देखि १५ जना मजदुर परिचालन भएको यस आयोजनामा सवारी साधन आवत जावतले नियमित काम गर्न नदिने समस्या रहेको बताउँदै उनले मजदुरहरु बढाउने तयारी भैरहेको बताउनुभयो ।अहिले तीन वटा एक्साभेटरले काम सुरु गरेको यस आयोजनामा एउटा जेसिभि मेसीन थप गर्दै आयोजनाको कामलाई दुत्र गति दिने तयारी भैरहेको इन्जिनियर रावतले जानकारी दिए । आयोजनाको लागि प्रयोगशाला र नक्सा बनाउने काम सकेर अहिले कार्यक्षेत्रमा खटिएर कामलाई गति दिने तयारी गरेको जनाएको छ । यता सडक डिभिजन कार्यालय बागलुङका ईञ्जिनियर थानेश्वर खत्रीले पनि आयोजनाले सोचे अनुरुप गति लिन नसकेको स्विकार गरे । माग गरे अनुसारको बजेट नआउँदा निर्माण कम्पनीले तिब्र रुपमा काम गर्न नसकेको बताउँदै उनले अर्थ मन्त्रालयले प्रगती अनुसार बजेट पठाउने तयारी गरेपछि भने निर्माण कम्पनीले कामलाई गति दिने तयारी गरेको जानकारी पाएको बताउनुभयो ।‘‘ हामीले यस सडकलाई रु १० करोड प्रस्ताब गरेका थियौँ, मन्त्रालयबाट जम्मा १ करोड २५ लाख मात्रै बजेट प्राप्त भयो, अपुग रकम अन्य काम हुन नसकेका आयोजनाहरुबाट रकमान्तर गरि स्रोत जुटाउने गरि व्यवस्थापन गर्न पहल गरेका छौँ,’’– इन्जिनियर खत्रीले भने । मुस्ताङ–मनाङ र डोल्पा जोड्ने सडकको डिपिआर समेत तयार नभएको कारण त्यस सडकको बजेटलाई बेनी–दरबाङमा रकमान्तर गर्न कार्यालयले मन्त्रालयमा पहल गरेको छ । यस सडकमा एघार मिटर फराकीलो हुने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने भएको छ । पहिलो चरणमा बेनी देखि बाबियाचौर सम्मको सडक कालोपत्रे हुनेछ भने त्यहाँदेखि दरवाङ सम्मको कालोपत्रेको लागि अर्को प्याकेजमा काम गर्ने डिभिजनको तयारी छ । सडक कालोपत्रे भएपछि हाल साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटीएर तिस मिनेटमा पुरा गर्न सकिनेछ । सवारी र ढुवानी भाडा घट्नेछ । बेनी–बावियाचौर– दरबाङ हुँदै बागलुङको लामेला, तमान र दरबाङदेखि ताकम – मुना हुदै ढोरपाटन र जलजला जोडिने यो सडकलाई पश्चिम म्याग्दीको ‘भाग्यरेखा’ मानिएको छ ।