२६ बर्षपछि बलेवा विमानस्थलमा विमान ल्याण्ड ! परीक्षण उडान सफल

  • ५ चैत्र २०७४, सोमबार
  • 2945 पटक पढिएको

बागलुङ, ५ चैत । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलमा २६ बर्षपछि विमान आएको छ । बलेवा–काठमाण्डौ नियमित हवाई सेवा सुचारु गर्ने उदेश्यले मंगलवार गरिएको परिक्षण उडानको लागि तारा एयरलाइन्सको विमान बलेवा आएको हो । पोखरादेखि बलेवा सम्म उडान गर्दै गरिएको परीक्षण उडान सफल भएको छ । पोखराबाट उडेको १० मिनेटपछि तारा एयरलाइन्सको ‘टुइनटर’ विमान बिहान सवा ११ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो अवतरणपछि चालक दलका सदस्यहरुले अन्य दिशाबाट पनि विमान अवतरण गराएका थिए ।

विमान चालक सन्तोष शाह, प्रभाकर घिमिरे र सञ्जिव श्रेष्ठले परीक्षण उडान र अवतरण गराएको तारा एयरलाइन्सले जनाएको छ । विमानमा नागरिक उड्ययन प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँ लगाएत प्राधिकरण र ऐयरलाइन्स कम्पनीका पदाधिकारी, इन्जिनियरहरु सवार थिए । चालक दलसहित विमानमा सवार टोलीलाई स्थानीयहरुले फूलमाला र अबिरले स्वागत गरेका थिए ।

परीक्षण उडानसँगै विमानस्थल नियमित सञ्चालनको सुनिश्चतता भएको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताउनुभयो । ‘परीक्षण सफल भएको छ, प्राविधिक रुपमा कुनै समस्या छैन’ उहाँले भन्नुभयो । तत्कालको लागि तारा र नेपाल एयरलाइन्सले एक÷एक गरि साताको दुई पटक उडान भर्ने भएका छन् । आउँदो शुक्रबारदेखि बागलुङ–काठमाडौं नियमित उडान शुरु गरिने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सले उडान भर्नेछ । प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच भएको सम्झौतापछि विमानस्थल सञ्चालनमा आएको हो । २६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल पछिल्लो समय गौचरणमा परिणत भएको थियो । विमानस्थल चलाउने निर्णयपछि प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारी र इन्जिनियर द्वय ताराकान्त शाह र मिनराज ओझाको टोलीले विमानस्थलको प्राविधिक अध्ययन गरेको थियो ।

सोही प्रतिवदेनले दिएको सुझावका आधारमा मर्मत, सुधार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । धवलागिरिबासीको वर्षौंदेखिको सपना साकार भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासमा विमानस्थलले ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । ‘सातामा एक÷दुई गर्दै दैनिक उडान भर्ने तयारी छ’ उहाँले भन्नुभयो ‘शुरुका दिनमा यात्रु कम भएपनि त्यसको क्षतिपूर्ति नगरपालिकाले व्यहोर्छ ।’

विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । यात्रुको सुनिश्चिता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले पहल गर्ने सहमति भएको छ । बागलुङ सदरमुकामदेखि ८ किमिको दुरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालिगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । उक्त सडकको स्तरवृद्धि र कालोपत्रेको लागि तत्काल पहल अगाडि बढाइने नगरपालिकाले जनाएको छ ।

वि.सं. २०२२ सालमा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा आएर बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक–पटक पहल गरिएपनि त्यसले सार्थकता पाउन सकेको थिएन । चार वर्षअघि पनि विमानस्थल सञ्चालनको लागि परीक्षण उडान गरिएपनि त्यसले निरन्तरता पाउन सकेन । विमानस्थल नियमित सञ्चालन हुन सके धवलागिरि र आसपासका जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ लिनेछन् ।