बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा पालनसंगै आलु खेती

  • ४ चैत्र २०७४, आईतवार
  • धिरन खत्री
  • 2931 पटक पढिएको


म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका एक युवाले गाउँमै कृषि फर्म स्थापना गरेका छन् । कृषक प्रकाश भण्डारीले बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा फर्म र आलु खेती गरिरहेका छन् । उनले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरिरहेका छन् ।


व्यवसायिक पशुपालन र कृषिबाट स्वदेशमै स्वरोजगार बन्ने उद्देश्य बोकेर कृषि पेशामा लागेका युवा उद्यमी भण्डारीद्धयले कुखुरापालनसंगै आलुखेती गरेका छन् । उनले फर्ममा तिन सय भन्दा बढी कुखुरा र हाँस पाल्दै आएका छन् । कुखरा पालनसंगै लामो समय देखि बाझो बसेको जग्गालाई सदुपयोग गर्दै आलु खेती सुरु गरेका छन् । उनले कुखुराबाट निस्केको मललाई सदुपयोग गर्न बाझो बसेको बारीलाई खन्दै आलुखेति पनि गरेका छन् ।

गत बैशाखदेखि व्यवसायिक पशुपालन गर्ने गरि ७ सय क्षमताको कुखुराको खोर र १०० क्षमताको हाँसको खोर निर्माण गरिएको उद्यमी प्रकाश भण्डारीले बताए । उनले आवासगृह ,खोर निर्माण ,कुखुरा, बाख्रा र हाँसका चल्ला खरिद लगायतमा १० लाख भन्दा माथि लगानी भईसकेको जानकारी दिए । बार्षिक २२ हजार रुपैयाँ दिने गरि जग्गा भाडामा लिएर पशुपालन थालीएको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्र रुईसे भेडिओडारमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होमस्टेको समेत व्यवस्था गरिएको उद्यमी भण्डारीले बताए । बाईसे चौविसे राजाको विभिन्न भग्नाअवसेस भएको सो रुईसे क्षेत्रलाई लक्षित गरेर दुइ हजार २२० मिटर उचाईको थानकोट डिलमा बन्ने भ्युटावरपछि आउने पर्यटकलाई लक्षित गरेर होमस्टेको ब्यवस्थापनका लागि तयारी भएको उनले बताए ।


उनका अनुसार, आवासगृहमा दैनिक १० देखि १२ जनासम्मलाई राख्न सकिने क्षमता रहेको छ । सो होमस्टेमा स्थानीय उत्पादनका परिकारहरुको स्वाद पर्यटकहरुलाई चखाउने गरिएको छ
पर्यटकिय स्थलमा संचालन गरिएको फर्म अवलोकन गर्न प्रदेश सांसद विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारी, वडा अध्यक्ष रिमबहादुर कटुवाल सो क्षेत्रमा पुगेका थिए । भ्युटावरमा पु¥याउने सडकलाई कृषिफमसंग जोडेर लाने प्रतिवद्धतासहित छिटै निर्माण कार्यलाई तिव्रता दिने वडा अध्यक्ष केसीले बताए । देशको समृद्धि चाहनालाई सफल बनाउन भण्डारीले सुरु गरेको पहलले पक्कैपनि स्वदेशमा रोजगारी आत्मनिर्भर बन्न अन्य युवाहरुलाई प्रेरणा मिल्ने छ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l