बेनी नगरपालिकाको नगरसभामा जनप्रतिनिधी र कर्मचारीको किन भयो ? जुहारी

  • २८ फाल्गुन २०७४, सोमबार
  • 2159 पटक पढिएको

म्याग्दी, २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालीकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।

कार्यपालीकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक प्रस्तुत गरेपनी सदस्यहरुले अध्ययनका लागि समय मागपछी एक हप्तापछि बस्नेगरी स्थगीत गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।नगरसभाका सदस्य र कार्यपालीकाका सदस्यहरुले नगरपालीकाको प्रशासनीक नेतृत्वको अब्यवहारीक र सुस्त कार्यशैलीका कारण पर्याप्त छलफल र अध्ययन बिनै बिधयक पेश भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माको कार्यशैलीप्रती जनप्रतिनिधिहरु असन्तुष्ट रहेको बताउनुभयो । कार्यपालीका बैठकमा एमालेबाट निर्वाचीत जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत शर्माबीच भनाभन भएको थियो । कार्यपालीकाको निर्णय तथा गतिबिधि जनप्रतिनिधिहरुले समेत जानकारी नपाउने र समयमै सूचना प्रवाह नगरेको उनिहरुको आरोप छ । नगरसभाको उद्घाटन सत्रको शुभकामना मन्तब्यकै क्रममा जनप्रतिनिधि तथा राजनितिक दलका नेता र कर्मचारीहरुबीच जुहारी चलेको थियो ।

नेता र जनप्रतिनिधिहरुले कर्मचारीले जनप्रतिनिधिको अस्तित्व स्वीकार गर्न नसकेको, खटाएको ठाउँमा नगएको, ढिलासुस्ती गरेको र सेवाग्राहीलाई अनेक बाहनामा दुख दिएको आरोप लगाएका थिए भने कर्मचारीहरुले राजनितिक्षले बिधि र प्रक्रिया मिचेर काम गर्न दवाव दिएको भन्दै रक्षात्मक रुपमा प्रस्तुत भएका थिए । प्रदेशसभा सदस्य बिनोद केसीले जनप्रतिनिधिको केन्द्रिकृत मानसिकता र कर्मचारीहरुको पुरानै कार्यशैलीका कारण म्याग्दीका स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढेको बताउँदै भ्रष्ट्राचार नियन्त्रण, शुसासन कायम, स्थानीय स्रोत साधनको परिचालन गरी जनतालाई सेवा र सुबिधा दिन ईमान्दार र जिम्मेवार भएर लाग्न आग्रह गर्नुभएको थियो । 

धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालले एउटै सेवा सुबिधा पाउने दुर्गमका कर्मचारी चौबिसै घण्टा खटिनुपर्ने र सुगमका कर्मचारीले घाम तापेर दिने बिताउने अवस्थाको छिटो अन्त्य हुनुपर्ने बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बिधी बनाउने ईमान्दार र कार्यान्वयन गर्ने पक्ष जिम्मेवार बन्नुपर्ने बताउदै घुमाउरो शैलीमा जनप्रतिनिधि तथा नेताहरुलाई बिधी, प्रक्रिया र नियम कानुनको अध्ययन गर्न सुझाव दिनुभयो ।


कर्मचारीहरुप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, काँग्रेसका माधवप्रसाद रेग्मी, माओवादी केन्द्रका शेरबहादुर केसीले कर्मचारीले योग्यता, क्षमत्ता र विज्ञताको प्रर्दशन गर्ने समय आएको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले बेनीमा जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध भएको दावी गर्दै पारदर्शीता र शुसासन प्रमुख कार्यभार भएको बताउनुभयो । 

नगरप्रमुख श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत शर्माको सञ्चालन र उपप्रमुख सञ्जु बरुवालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले पनी मन्तब्य गर्नुभएको थियो ।