प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिए

  • ९ फाल्गुन २०७४, बुधबार
  • 2233 पटक पढिएको

काठमाडौं, ९ फागुन । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् । बुधबार बिहान ३ः३० बजे प्रहरीसँगको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले पनि मारिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले नागरिकलाई जानकारी दिए।

पुन र उनका सहयोगीले रुपन्देहीमा कुनै अप्रिय घटना घटाउदै छन भन्ने सुचनाका आधारमा प्रहरीले सम्भावित इलाकामा सर्च गरेको थियो । केन्द्रिय अनुसन्धान ब्यूरो र रुपन्देही प्रहरीको टोलीले सम्भावित क्षेत्रमा पुनको खोजी गरिरहेका बेला राती ३ः३० बजे रुपन्देहीको देवदह, ४ को भवानीपुरमा पुनसहित उनका सहयोगीले प्रहरीलाई लक्षित गरी फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो ।

त्यस क्रममा दुई जना घाइते भएको र उनीहरुलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएकोमा अस्पतालले दुवै जनालाई मृतक घोषित गरेको एसपी ज्ञवालीले जानकारी दिए । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या तथा केही समय अघि रुपन्देहीकै व्यवसायी बसन्त पौडेलको हत्यामा पुनको संलग्नता पाइएपछि प्रहरीले उनको व्यापक खोजी गरिरहेको थियो ।

भारतको गोवा, पुनेलगायतको स्थानमा बसेर नेपाली व्यापारीलाई धम्काउँदै रकम असुल गर्ने र आफूले भनेको नमान्नेहरुलाई सहयोगी प्रयोग गरेर हत्या गर्ने काममा पुनको संलग्नता रहँदै आएको थियो।