मल्लाजमा महिलाहरुका लागि सञ्चालित प्याड बनाउने तालिम सम्पन्न 

  • ६ माघ २०७४, शनिबार
  • 2767 पटक पढिएको

पर्वत, ६ माघ ।   उद्यमशिलता मार्फत महिलाहरुलाई समाजका हरेक क्षेत्रमा अगाडि बढाउने लक्ष्यका साथ पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सञ्चालित २ दिने सेनेटरी प्याड बनाउने शनिबार सम्पन्न भएको छ ।   महिला चेतना केन्द्र पर्वतको आयोजना तथा साविक माँझफाट गाविसको आर्थिक सहयोगमा सञ्चालित तालिममा साविक मल्लाज गाविसका ६० जना महिलाहरुको सहभागिता रहेको छ ।

महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने प्याड घरमै बनाएर प्रयोग गर्न र खर्च कटौती गरी बचत गर्ने बानी बसाल्न तालिम दिइएको संंस्थाले जनाएको छ ।   तालिममा सेनेटरी प्याड, चुरा बनाउने विषयमा जिल्ला सहकारी संघ बागलुङका कोषाध्यक्ष तथा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले सहजीकरण गर्नु भएको थियो ।

घरमा खेर गैरहेका कपडाबाट प्याड बनाउन सकिने र उक्त प्याड स्वास्थ्यका हिसावले लाभदायी तथा कम खर्चिलो हुने भएकाले यो तालिम महिलाहरुका लागि प्रभावकारी हुने उहाँले बताउनुभयो ।  तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरेर आयआर्जनमा वृद्धि गरी वचत गर्नका लागि सहज हुने भएकाले यो तालिम महिलाहरुका लागि उपयोगी भएको सहभागीहरुले बताएका छन् ।

समापन कार्यक्रम केन्द्रका अध्यक्ष हेम कुमारी अधिकारीको अध्यक्षता र  सचिव शान्ति जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।    संस्थाले सेनेटरी प्याड तालिम भन्दा पहिला पुस २७ गतेदेखि माघ २ गतेसम्म अगरवत्ती बनाउने तालिम सम्पन्न गरी सकेको छ भने यो तालिम पछि उद्घोषण तालिम सञ्चालन गर्ने जनाएको छ ।

२०६४ सालदेखि महिलाहरुको सशक्तिकरणका क्षेत्रमा काम गर्दै आइरहेको महिला चेतना केन्द्रले आयमुलक, शीपमुलक र चेतनामुलक तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थाले यस पूर्व विभिन्न चरणमा सिलाई कटाई, हाउस वायरिङ, उद्घोषण, नेतृत्व विकास लगायत आयआर्जनका लागि तरकारीका विरुवा वितरण, अगरवत्ती बनाउने लगायतका तालिम सञ्चालन गर्दै आइरहेको केन्द्रका अध्यक्ष हेम कुमारी अधिकारीले जानकारी दिनुभयो ।