नगरपालिकाद्धारा नवनिर्वाचित सांसद्लाई सम्मान

  • ६ माघ २०७४, शनिबार
  • 1752 पटक पढिएको

म्याग्दी, ६ माघ । बेनी नगरपालिकाले प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनमा विजयी तीनजना सांसदलाई शुक्रबार सम्मान गरेको छ । नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधीसभाका सदस्य भुपेन्द्र थापा, प्रदेशसभा ‘क’ का सांसद विनोद केसी र ‘ख’ की सांसद नरदेवी पुनलाई नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र वडाअध्यक्षहरुले फुलमाला र खादा ओढाएर सम्मान गरेका हुन् । सांसदहरुलाई सम्मान गर्दै नगरप्रमुख श्रेष्ठले स्थानीय तहले जनअपेक्षा अनुसारको काम गर्ने वातावरण सिर्जनाका लागि नीतिगत रुपमै बजेट र कर्मचारी व्यवस्थापनको पाटोलाई बलियो बनाउनुपर्ने बताए ।

नगरपालिका चालु आबमा सञ्चालन गर्ने कार्यक्रम र अहिले गरिरहेका कार्यहरुको विषयमा जानकारी गराउँदै नगरप्रमुख श्रेष्ठले स्थानीय तहलाई सुरुमा विषयगत कार्यालयहरुबाट स्पष्ट रुपमा योजना र कार्यक्रम नआउँदा अहिले समस्या सिर्जना भएको बताए । कार्यक्रममा प्रतिनिधीसभा सदस्य भुपेन्द्र थापाले स्थानीय तहलाई व्यवहारिक रुपमै स्थानीय सरकारको अनुभूति गराउने नीति रुपमा भएका अधिकारहरुको उपभोग गर्न पाउने बातावरण बनाइने बताए । संघीयता कार्यान्वयनको चरणमा रहेको भन्दै प्रतिनिधीसभा सदस्य थापाले जनअपेक्षा अनुसारको योजना र कार्यक्रम नयाँ सरकारले बनाउने बताए ।

उनले नगरबासीको विकास प्रतिको चाहना पूरा गर्न नगरपालिकाले बनाउने योजनाहरुमा आफ्नो सहयोग र समर्थन रहने बताए । कार्यक्रममा प्रदेशसभा क का सांसद विनोद केसीले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई मन, बचन र कर्मले जिल्लाको विकासका लागि काम गर्ने बताए । प्रदेशसभा ख की सांसद नरदेवी पुनले संघीय शासन व्यवस्था सफल हुनका लागि जनप्रतिनिधी र कर्मचारी प्रशासन बीच सहकार्यको आवश्यकता रहेको बताए । कार्यालका विभिन्न शाखामा कार्यरत कर्मचारी, नगर कार्यपालिकाका सदस्यहरु समेत सहभागि सम्मान कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले गरेका थिए ।