मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड

  • ३ माघ २०७४, बुधबार
  • 1741 पटक पढिएको

बेनी ३ माघ । बेनीमा बुधबार चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराको आयोजनामा भएको कार्यक्रममा २०७१ साउन १ गतेदेखि लागु भएको चौथो मानवअधिकार कार्यायोजनाको राष्ट्रिय र जिल्ला तहमा कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको थियो ।

छलफलमा प्रशासक, सुरक्षा अधिकारी, सम्बद्ध कार्यालयका प्रमुख र मानव अधिकारसंग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । चौथो कार्ययोजनाको मध्यावधि समिक्षा समेत गरिएको थियो ।छलफलका क्रममा समन्वय र सहजिकरणको अभावमा जिल्ला स्तरमा प्रजिअको अध्यक्षतामा रहने कार्ययोजना कार्यान्वयन समिति निष्क्रिय रहेको बताइएको थियो ।

सवैका लागि घर, घरमा मानवअधिकार, शान्ति र विकासको आधार भन्ने नारा सहित मानवअधिकारसंग सम्बन्धित अन्तराष्ट्रिय प्रतिवद्धताा कार्यान्वयनका लागि सरकार र मानवअधिकार आयोगले कार्ययोजना बनाएका थिए । कार्ययोजना अनुसार जिल्ला स्तरमा मानवअधिकारको अवस्था र समस्याको विषयमा छलफल गरी मानवअधिकारको रक्षाका लागि पहल गर्नुपर्ने थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी र समन्वयको अभावमा कार्ययोजना कार्यान्वयन समिति निष्क्रिय रहेको बताउनुहुदै आयोगले सहजिकरण गरेर स्थानीय तहसम्म संयन्त्रको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका मानवअधिकार अधिकृत खिमलाल सुवेदीले कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको थियो भने निमित्त क्षेत्रीय निर्देशक नितु बर्तौलाले सहभागीले उठाएका प्रश्न र जिज्ञाशाको उत्तर दिनुभएको थियो ।