पिप्ले–भगवती–बेगखोला सडकलाई १ करोड बजेट विनियोजन

  • २३ फाल्गुन २०७३, सोमबार
  • कमल खत्री
  • 4633 पटक पढिएको

म्याग्दी, २३ फागुन । म्याग्दी जिल्लाकै जिर्ण सडकको रुपमा चिनिएको गलेश्वर–पिप्ले–भगवती हुँदे बेगखोला जोड्ने सडकलाई रु १ करोड बजेट बिनियोजन भएको छ । जिर्ण सडकको स्तरोन्नती र मर्मतका लागि अर्थमन्त्रालयले चालु आर्थिक बर्षमा नै खर्च गर्ने गरि उक्त बजेट विनियोजन गरेको हो । जिल्लाको महत्वपूर्ण सडक भएपनि आबश्यक बजेट विनियोजन नभएको सन्दर्भमा सोमबार अर्थमन्त्रालयले उक्त बजेट विनियोजन गरेपछि सडकको स्तर सुधार हुने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहनुभएका केन्द्रिय पोलिटव्युरो सदस्य गोविन्द पौडेलले बताउनुभयो ।

Myagdi jirna sadak

‘‘ यो बर्ष जिल्लाका धेरै सडकमा बजेट विनियोजन हुँदा समेत यो सडकमा बजेट परेको थिएन, हामीले निरन्तर दबाब दिएपछि मन्त्रालयले बजेट बिनियोजन गरेको छ, अब यसलाई कार्यान्वयनमा जुट्नुपर्छ’’– उहाँले भन्नुभयो । मन्त्रालयले माघ भित्र बजेट विनियोजन भएर काम नभएको योजनाहरुको बजेटलाई रकामान्तर गरि विभिन्न योजनाहरुलाई बजेट विनियोजन गरेको बताइएको छ । यो बजेट सडक डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुनेछ ।

उक्त सडक खण्डमा हाल जिविस मार्फत १५ लाख र सांसद क्षेत्र विकास कोषबाट ४० लाख बजेट विनियोजन भइसकेको अबस्थामा मन्त्रालयबाट थप बजेट विनियोजन भएपछि त्यस क्षेत्रका स्थानीय खुसी भएको सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर शाहीले बताउनुभयो । उहाँले यस अघिका योजनाहरुमा बजेट विनियोजन भएपनि निकासा हुन ढिलाई हुँदा काम गर्न समस्या भएको भन्दै बिनियोजन भएको बजेटको निकासा समयमै गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

गलेश्वर पिप्ले, भगवती – बेगखोला हुँदै चिमखोला र कुइनेमंगले सम्म ट्याक पुगेको सडकले धेरै गाविसलाई समावेश गरेको कारण प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिबालय सदस्य पुनम खड्काले बताउनुभयो । सदरमुकामदेखि तीन किलोमिटर अगाडि गलेश्वरसम्म पुगेको सडकलाई विस २०६४ मा विस्तार गरी पिप्ले हुँदै भगवतीसम्म पु¥याइएको थियो ।

हिउँदका महिनामा सामान्य जिप र ट्र्याक्टर सञ्चालन हुने भए पनि वर्षा याममा यो सडक नियमित रुपमा अवरुद्ध हुने गरेको  छ ।बर्खाको समयमा हिलो र हिउँदमा धुलाम्मे सडकका कारण यात्रुले जोखिम मोलेर यात्रा गर्ने गरेका थिए । प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा म्याग्दीका डाक्टर मिन बहादुर श्रेष्ठले जिम्मेबारी पाएपछि म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा बजेट विनियोजनले प्राथमिकता पाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l