चैतको तेस्रो साता दोस्रो सहकारी महासम्मेलन हुदै

सहकारीको योगदान बढाउने लक्ष्य

  • २ माघ २०७४, मंगलवार
  • रामबहादुर जि.सी.
  • 1784 पटक पढिएको

बागलुङ, ३० पौष ।  सहकारीका माध्यमबाट नेपालमा भएका उपलब्धीहरुको  समिक्षा गरी थप प्रभावकारी बनाउने लगायतका उदेश्य राखेर आगामी चैतको तेस्रो साता काठमाडौंमा दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ ।   नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ मुख्य आयोजक तथा सहकारीका अन्य केन्द्रीय निकायहरु सहआयोजक बनेर दोस्रो सम्मेलन आयोजना गर्न लागिएको हो । महासम्मेलन गर्ने निर्णय अनुसार आइतवार सहकारी तथा गरिवी निवारण मन्त्रालयमा बसेको वैठकले महासम्मेलनको मिति र स्थान तय गरेको हो ।

आगामी चैत २१ र २२ गते हुने दोस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा देश विदेशका सहकारी विज्ञ सहित सहकारी क्षेत्रमा क्रियाशिल १२ सय जना सहकारीकर्मीहरुको सहभागिता रहनेछ ।    महासम्मेलन सम्पन्न गर्नका लागि राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशव बडालको संयोजकत्वमा ५१ सदस्यीय महासम्मेलन मुल आयोजक समिति गठन गरिएको छ ।

समितिमा सहकारी तथा गरिवी निवारण मन्त्रालय सचिव, अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय सहकारी महासंघका पदाधिकारी तथा सदस्यहरु, राष्ट्रिय सहकारी विकासबोर्डका सहअध्यक्ष, सहकारी विभागका रजिष्ट्रार, राष्ट्रिय सहकारी बैंक तथा विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु रहनु भएको छ ।

समितिको सदस्य सचिवमा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धकलाई चयन गरिएको छ ।   महासम्मेलनले नेपालको सहकारी अभियानमा हालसम्मको उपलब्धीको सिंहावलोकन गरी थप उपलब्धीमुलक बनाउने, सन २०३० सम्मको दीगो विकास लक्ष्य प्राप्तिका लागि सहभागिता र योगदानमा वृद्धि गर्ने, सरकार तथा सहकारी अभियान एवं सरोकारवाला निकायहरुबीच सुदृढ सम्बन्ध र समन्वयको भावना विकास गर्ने लक्ष्य लिएको छ ।

यस्तै सहकारी क्षेत्रमा रहेका साझा समस्याको पहिचान तथा भावी कार्य दिशा निदृष्ट गर्ने, अन्तर्राष्ट्रिय सहकारी महासंघको लक्ष्य अनुरुप सहकारी दशक भित्र सहकारी व्यवसायको सुदृढीकरणका लागि थप पहलकदमी लिने र सहकारी संघ संस्थाहरुबीच ऐक्यवद्धता एवं साझा प्रतिवद्धताहरु कायम गर्ने लक्ष्य लिइएको महासम्मेलन मुल आयोजक समितिका सदस्य तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले जानकारी दिनुभयो ।

काठमाडौंको सोल्टी होटलमा हुने गोष्ठीमा जिल्लामा क्रियाशिल सबै जिल्ला सहकारी संघ र विषयगत सहकारी संघका अध्यक्षहरु सहित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।    नेपालमा पहिलो पटक २०७० चैत ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको थियो ।

रामबहादुर जि.सी.