रघुगंगा र धौलागिरि गाउँपालीकाको भवन निर्माणका लागि जिससद्धारा सिफारीस (भिडियो सहित)

  • ३० पुष २०७४, आईतवार
  • 2283 पटक पढिएको

म्याग्दी ३० पुस । म्याग्दीका दुई वटा गाउँपालिका कार्यालयको भवन निर्माण सुरु हुने भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको परिपत्र अनुसार जिल्ला समन्वय समितिले यस बर्ष जिल्लाको रघुगंगा गाउँपालिका र धौलागिरि गाउँपालिका कार्यालयको भवन निर्माणको लागि सिफारिस गरेको हो । आईतवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले मन्त्रालयको आग्रह अनुसार दुई गाउँपालिकालाई भवन निर्माणको लागि छनौट गरि पठाईएको बताउनुभयो ।

 

नयाँ ठाउँमा केन्द्र तोलिएका दुबै गाउँपालिकाको कुनै पनि पूर्वाधार नभएकाले दुई गाउँपालिकालाई छनौट गरिएको उहाँले बताउनुभयो । मन्त्रालयकै आग्रह बमोजिम मंगला गाउँपालिका– ४ बरंजा र अन्नपूर्ण गाउँपालिका–८ राम्चेको वडा कार्यालय भवन निर्माणका लागि समेत योजना सिफारीस गरिएको छ । जिल्लाबाट सिफारिस भएका गाउँपालिका कार्यालयको भवन चालु आर्थिक बर्षदेखि नै सुरु हुने जिससले जनाएको छ । गाउँपालिका भवन निर्माणमा रु १० करोड देखि पन्ध्र करोड र वडा कार्यालय भवनका लागि पचास लाख देखि एक करोड रुपैया सम्म बजेट प्राप्त हुने जिसस प्रमुख केसीले बताउनुभयो ।

गाउँपालिकाको भवन निर्माण योजना मन्त्रालयले स्विकृत गरि पठाएपछि सुरु हुने र वडा कार्यालयको भवन निर्माण योजना भने छिट्टै जिल्ला प्राविधिक कार्यालय मार्फत ठेक्का पक्रिया अगाडी बढ्ने जनाईएको छ । यसैगरी मालीका ३ डाँडागाउँमा वडा कार्यालयको अस्थाई भवन निर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सिफारीस गरिएको छ ।

जिल्ला समन्वय समितिले जिल्लामा सुरु भएका ठुला विकास निर्माण योजनाहरुको प्रभावकारी कार्यान्वयनको लागि समेत सम्बन्धित सरोकारवालासंग समन्वय एवम आवश्यक अनुगमन गरि निर्देशन दिने काम भईरहेको जनाएको छ । स्थानीय तह, विषयगत कार्यालय र गैरसरकारी संस्थाहरु संगै विभागकबाट सञ्चालन हुने आयोजनालाई पारदर्शी र प्रभाबकारी बनाउन समन्वय एवम छलफल र आवश्यक परामर्श दिने काम भईरहेको जिसस प्रमुख केसीले बताउनुभयो । दुई हप्ता अघि बागलुङ स्थित डिभिजन भवन, सडक र जलउत्पन्न कार्यालयका प्रमुख र स्थानीय तहका जनप्रतिनिधिहरुबीच बेनीमा छलफल भएको थियो ।

 

म्याग्दीमा सञ्चालित बेनी–जोमसोम–कोरला सडक, कालीगण्डकी कोरीडोर विद्युत सबस्टेशन र प्रशारण लाईन, राहुघाट जलविद्युत लगायत राष्ट्रिय गौरवका आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गराउन पहल गरिरहेका जिससप्रमुख केसीले बताउनुभयो । उहाँले स्थानीय तहबाट बजेट बिनियोजन भएका पूर्वाधार निर्माणका योजना निर्माणमा तिब्रता दिन आग्रह गर्नुभएको छ । आर्थिक वर्षको अन्त्यमा हतारमा काम गर्ने र बजेट मात्र सक्ने प्रवृत्ती निरुत्साहीत गर्न अहिलेदेखिनै काम सुरु गर्न स्थानीय तहहरुलाई आग्रह गर्नुभयो ।

बैङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका कारण लाभग्राहीले दुख पाएको बताउँदै वडा कार्यालयबाट जनप्रतिनिधिको रोहोभरमा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गरिएको उहाँले बताउनुभयो । त्यसैगरि निवर्तमान सांसदहरुले सिफारीस गरेका आयोजनाहरु जिल्ला प्राबिधिक कार्यालय मार्फत कार्यान्वयनका लागि अख्तियारी प्राप्त भए बमोजिम प्राविधिक कार्यालयलाई कार्यान्वनयको लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।