जिल्ला संघको नयाँ सञ्चालक समितिलाई आदर्श सञ्चार सहकारीद्वारा वधाई ज्ञापन

  • २९ पुष २०७४, शनिबार
  • 1973 पटक पढिएको

बागलुङ, २९ पौष ।  जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाबाट सर्वसम्मत चयन भएको सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई आदर्श सञ्चार सहकारी संस्थाले वधाई ज्ञापन गरेको छ ।  संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुका लागि आदर्श सञ्चार सहकारी संस्थाले शनिवार स्वागत कार्यक्रमको आयोजना गरी वधाई ज्ञापन गरेको हो ।

बिहीवार सम्पन्न संघको नवौ वार्षिक साधारणसभाले दिपक गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र रुद्रबहादुर केसीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको थियो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई  वधाई ज्ञापन गर्दै आदर्र्श सञ्चार सहकारीका संस्थापक अध्यक्ष एवम् नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसीले सहकारीहरुलाई व्यवसायिक र उत्पादनका क्षेत्रमा केन्द्रीत गर्न सुझाव दिनु भयो ।

सहकारीहरुले विपन्न गर्नका जनतालाई एकतावद्ध गराउदै आयआर्जन वृद्धि गरी वचत गर्ने बानीको विकास गराएको भन्दै उहाँले अब सदस्यहरुसंग भएको पूँजिलाई उत्पादन र व्यवसायिक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्न सहकारी संघले समन्वयकारी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी, लेखा समितिका संयोजक रुद्रबहादुर केसीले बागलुङको सहकारी अभियानलाई अगाडि बढाउन सञ्चारको क्षेत्रबाट आदर्श सञ्चार सहकारीले खेलेको भूमिका प्रभावकारी रहेको बताउनुभएको थियो ।

उहाँहरुले जिल्लाका सबै विषयका सहकारीहरुसंग समन्वय गरी समृद्ध समाज निर्माणका लागि सहकारीको भूमिका प्रभावकारी बनाउन पहल प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, लेखा समितिका संयोजक मिलन केसीको स्वागत र संस्थाका सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारीले धौलागिरि  जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजन सञ्चालनमा समेत सहकार्य गरेको छ ।   संस्थामा हाल १२ सय शेयर सदस्य, २ करोड ६५ लाख शेयर रकम, ८ करोड ५० लाख वचत, ११ करोड १६ लाख लगानी रहेको संस्थाले जनाएको छ ।