धवलागिरि गाउँपालिकामा भलिबल प्रशिक्षण सम्पन्न

  • २९ पुष २०७४, शनिबार
  • 3526 पटक पढिएको

म्याग्दी, २९ पुस । म्याग्दीको धौलागिरि गाउँपालिकाको आयोजनामा पाँच दिनको भलिबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँमा रहेका खेलप्रतिभाको पहिचान र भलिबल खेल सम्बन्धि नियमहरुको बारमा खेलाडीहरलाई जानकारी गराउने उदेश्यले धौलागिरि गाउँपालिका– ३ मुनामा सो कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका खेलाडीहरुलाई म्याग्दी जिल्ला का भलिबल प्रशिक्षक एवम जिल्ला भलिबल संघका उपाध्यक्ष तेजेन्द्र बानियाँले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा प्रयोगात्मक र सैद्धान्तीक रुपमै खेलाडीहरुलाई फिङ्गर पोजिसन, रोटेशन लगायतको बारेमा सहजीकरण गरिएको थियो ।

प्रशिक्षणले खेलाडीहरुमा अनुशासन कायम गरि उनीहरुको क्षमताको पहिचान गरि जिल्ला स्तर हुँदै माथिल्लो तहसम्म पुगेर खेल खेल्नका लागि सहयोग पुग्ने खेलाडीहरुको भनाई छ । सो प्रशिक्षण कार्यक्रमको गाउँपालिका प्रमुख थमसरा पुनले उद्घाटन गर्नुभएको थियो भने उप–प्रमुख रेशम छन्त्यालले समापन गर्नुभएको थियो । महिला र पुरुष १५/१५ जनालाई सो अवसरमा राष्ट्रिय खेल भलिबलको बारेमा प्रशिक्षण दिईएको थियो ।

सो अवसरमा प्रशिक्षक बानियाँले गाउँघरमा हुने मेलाहरुमा समेत भलिबल खेलको नियमलाई कार्यान्वयन गर्न आग्रह गर्दै खेल नियमले खेललाई स्वच्छ, प्रतिस्पर्धी र मर्यादित बनाउनेमा जोड दिनुभयो । सो प्रशिक्षणमा सहभागी भएकामध्ये १० /१० जना महिला र पूरुष खेलाडीहरुलाई म्याग्दी महोत्सवमा हुने स्थानीय तह स्तरीय भलिबल प्रतियोगिताको लागि छनौट समेत गरिएको छ ।

पुस २४ गतेदेखी २८ गतेसम्म सञ्चालन भएको सो प्रशिक्षण कार्यक्रमका प्रशिक्षक बानियाँलाई समापन कार्यक्रममा सम्मान सहित विदाई गरिएको थियो ।