माओवादी कार्यकर्तालाई बेनीमा प्रचण्डले भने पार्टी एकता जनताले अनुमोदन गरिसके

  • २८ पुष २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2012 पटक पढिएको

म्याग्दी, २८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र सुशासन अवको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनितिक आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै देश विकास मार्फत सम्बृद्धी हाँसील गर्ने बाटोमा अघि बढेको बताउनुभयो ।

“धेरै अप्ठ्यारा, चुनौती र दवावको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको चुनाव सफल पा¥यौ” पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले भन्नुभयो “अब देश विकास, सम्बृद्धी र सुशासन कायम गराउने प्रमुख दायीत्व पुरा गछौ ।”उहाँले माओवादी केन्द्र र एमालेबिचको पार्टी एकता निर्वाचनमा जनताले अनुमोदन गरिसकेको कारण अब प्रकृयागत रुपमा रहेका काम सकेर छिट्टै पार्टी एकताको कामले पूर्णता पाउने समेत बताउनुभयो ।

बाम एकतालाई जनताले अनुमोदन गरीसकेकाले एमाले र माओवादीसंगै अन्य कम्युनिष्टपार्टीहरुलाई समेत केन्द्रिकृत गर्न पहल भैरहेको बताउनुभयो । बाम एकताको खाका तयार पार्ने काम भैरहेको र यसले छिट्टै पूर्णता पाउने प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले बाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष प्रचण्ड शुक्रबारदेखि बेनीमा सुरु हुन लागेको छैठौ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी आउनुभएको हो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l