बाग्लुङमा सुख्खा पहिरोले खोला थुनियो, ट्रान्सफर्मर डुबेर करेन्ट लाग्दा महिलाको मृत्यु

  • २२ फाल्गुन २०७३, आईतवार
  • 4823 पटक पढिएको

BG
बाग्लुङ, २२ फागुन । बाग्लुङको रिघा–७ मनेवापाटामा सुख्खा पहिरो खसेर दरमखोला थुनिएको छ । दरमखोला थुनिँदा छेउमा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरलगायतका उपकरण डुब्दा विद्युत सर्ट भएर एक महिलाको ज्यान गएको छ । विद्युत् सर्ट भई आगलागी भएको देखेपछि निभाउने क्रममा रिघा–७ कि ५६ वर्षकी मनकुमारी नेपालीको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी नेपालीको उपचारका क्रममा हटियामा मृत्यु भएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्गमाथिबाट खसेको सुख्खा पहिरोले आइतबार बिहान ५ बजेदेखि खोला थुनिएको छ । अहिले त्यहाँ ठूलो ताल बनेको छ ।

खोला थुनिएको चार घण्टापछि बिहान ९ बजेदेखि बिस्तारै माथिबाट पानी बग्न थालेको छ । पानी बग्न थालेकाले ताल फुट्ने जोखिम कम भए पनि प्रहरीले जुनसुकै बेला पहिरोले थुनिएर बनेको ताल फुट्न सक्ने भन्दै सुरक्षा सजगता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।