स्थलगत रिपोर्टः जोखिम ठाउँमा सुरक्षा नअपनाउँदा निर्माणधिन पुलबाट कामदार खसे ! (भिडियो सहित)

  • २५ पुष २०७४, मंगलवार
  • कमल खत्री
  • 3595 पटक पढिएको

म्याग्दी, २५ पुस । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल नेपालकै लामो पुल भएकाले पनि पक्कै पनि निर्माण कार्य जोखिमपूर्ण थियो नै । तर अधिकाँश जोखिमयुक्त कार्य सम्पन्न गरि आयोजना निर्माणसम्पन्न तिर अगाडी बढ्दै गर्दा सोमबार सोही निर्माणधिन पुलबाट दुई जना मजदुरको एकैसाथ ज्यान गएपछि सबैलाई यो घटनाले स्तब्ध बनाएको छ । पुलबाट उनीहरु के कसरी खसे भन्नेबारे कसैले पनि नदेखेपनि उनीहरु काम गरि वास बस्ने ठाउँतर्फ फर्कने क्रममा चिप्लीएर करिब १५० मिटर तलको खोचमा खसेको अनुमान छ ।

बाँदुक तर्फको भाग केही अग्लो पनि छ । बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा उकालो भागमा पुगेपनि उनीहरु खसेको अनुमान लगाउन सकिन्छ । लर्किएर पुलमा पल्टदा दायाँ र बायाँतर्फ छेकबार नभएकाले उनीहरु खसेर मृत्युबरण गरेको हुनसक्ने धेरेको अनुमान छ । उक्त घटनाको प्रारम्भीक अध्ययन अनुसार, सुरक्षाको लागि साबधानी अपनाउन नसक्दा निर्माणधिन पुलबाट खसेर उनीहरुको ज्यान गएको देखिएको हो ।

दायाँबायाँ तारजाली नलगाईको निर्माणधिन पुलबाट मजदुरहरुले ओहोरदोहोर गरि जोखिमपूर्ण तवरले वारीका सामान पारि पु¥याउने कार्य गर्दै आएका थिए । कतिपय व्यक्तिहरु समेत पुल निर्माण कार्य सम्पन्न नहुँदै सोही पुलबाट वारपार गर्दै आएका थिए । तर, सोमबार सोही पुलमा काम गरि फर्कने क्रममा पुलबाट खसेर दुई मजदुरको ज्यान गएपछि भने सम्बन्धित सबैको ध्यान मजदुरको सुरक्षातर्फ केन्द्रित भएको छ । पुलको बेगतर्फबाट बाँदुकतर्फ जाँदै गर्दा पुलबाट चिप्लीएर दुई जना कामदार खसेका थिए । ३ सय ६५ दशमल ८० मिटर लामो नेपालकै लामो उक्त पुलबाट खसेका दुबै जनाको सब सोही निर्माणधिन पुलको करिब १५० मिटर तलको खोचमा फेला परेको थियो ।
पुलबाट खसेर ज्यान जानेमा कैलाली जिल्लाको मोहनाल घर भएका धनबहादुर क्षत्री र पुरन थापा रहेका छन् ।

उनीहरु दुबै जना अविवाहीत हुन् । बेगतर्फबाट बाँदुक तर्फ सोही निर्माणधिन पुल मार्फत जाँदै गर्दा बाँदुकतर्फ पुग्दै गर्दा चिप्लीएर लडेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । निर्माणधिन पुलको तल व्यास हालेपनि दायाँ र बायाँतर्फ तार लगाउने काम नभएको र सुरक्षाको लागि साबधानी नअपनाईएकोले पुलमा चिप्लीएका उनीहरु खस्न पुगेको प्रारम्भीक अनुसंधानबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष रोकाले बताए । यस पुल निर्माणको क्रममा अक्करे भिरमा कार्यरत मजदुरहरुले सुरक्षाको लागि सेफ्टी बेल्ट, हेलमेट केही पनि नलगाईकन काम गर्दै आएका थिए । जोखिमयुक्त ठाउँमा पनि सुरक्षा अपनाएर काम गर्ने प्रवन्ध मिलाउन नसक्दा सो घटना भएको देखिएको छ । यस आयोजनामा कार्यरत मजदुरहरुले सेप्टी बेल्ट, हेलमेट लगायतका सामाग्रीको प्रयोग नगरिकनै काम गर्ने गरेको कामदार धनबहादुर बैजालीले बताए ।

‘‘ ज्यान गुमाउने दुबै जना दुई महिनादेखि यहाँ कार्यरत छन्, दुबै जनाले दिनभर बेगतर्फबाट बाँदुकतर्फ जोखिम मोलेर सिमेन्ट बोकेका हुन्, साँझ घर फर्कने बेलामा चिप्लीएर दुखत घटना भयो, हामी थप टोली एक सातादेखि मात्रै यहाँ आएका हौँ , सुरक्षीत हुने हामीलाई केही पनि दिईएको छैन, ’’– सोही पुल निर्माण कार्यमा कार्यरत एक महिलाले भनीन् । जिल्ला समन्वय समितिले बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि रु ३ करोड ३२ लाख लागतमा निर्माण गर्न लागेको यस पुलको करिब ८५ प्रतिशत बढी काम सम्पन्न भैसकेको थियो । पुल निर्माणको ठेक्का मुक्तिनाथ–जिता जेभि कम्पनीले लिएको छ ।

घटना स्थलमा काम गर्ने कामदारहरुले लगाउने सेफ्टी बेल्ट, हेलमेट लगायतका सामान नहुनु र साईड ईन्चार्ज समेत उपस्थित नहुनुले जोखीमपूर्ण कार्यमा निर्माण व्यवसायिले हेलचक्राई गरेको र कामदारहरुले समेत त्यसतर्फ ध्यान नदिएको कारण दुखत घटना हुन पुगेको देखिएको स्थानीयबासीको भनाई छ ।घटना स्थलको अवस्था हेर्दा काम गर्दा सुरक्षीत र साबधानीको लागि पूर्व तयारी नगरेको र जोखिम मोलेर काम गरेको कारण खस्न पुगेको देखिएको घटनास्थलमा पुगेर अवलोकन गरेका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए । केसीले पिडित परिवारलाई पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीसंग समन्वय गरि दुर्घटना बिमा र उचित क्षतीपुर्तीको लागि पहल गर्ने बताए ।

जिसस प्रमुख केसी, जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, निमित्त जिल्ला इन्जीनियर रविन महर्जन लगायतको टोलीले घटनास्थलमा पुगेर अवलोकन गरेका हुन् । यता निर्माण कम्पनीका प्रतिनिधि ओम गौचनले पुलको अधिकाँश जोखिमपूर्ण काम सकिएर सहज र निर्माण सम्पन्न हुने कार्यतर्फ अगाडी बढ्दै गर्दा भएको सो घटनाले आफुलाई समेत दुखित तुल्याएको बताउँदै पिडितको लागि जनही रु ५ लाखको बिमा गरिदिएकाले सो रकम उनीहरुलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । दुई गाउँलाई छोटो दुरीमा जोड्ने र पर्यटन विकासको लागि कोसेढुंगा सावित हुने निर्माणधिन झोलुङ्गेपुलबाट खसेर कामदारको ज्यान गएकोप्रति वडा कार्यालयले समेत दुख व्यक्त गरेको छ । वडा अध्यक्ष बिल फगामीले यस घटनाले सिंगो वडाबासीलाई दुखित तुल्याएको बताए । पुलबाट खसेर ज्यान गुमाएकाहरुको शब परिक्षणको लागि जिल्ला अस्पताल ल्याईएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l