मौवाफाँट, घट्टेकुलो र पोखरेबगर स्थायी केन्द्र

  • २५ पुष २०७४, मंगलवार
  • 1757 पटक पढिएको

म्याग्दी, २५ पुष । सरकारले म्याग्दीका तीन वटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । मँगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धवलागिरि गाउँपालिकाको वडा–३ घट्टेकुलो र अन्नपूर्णको वडा न–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो ।


यसअघि रघुगंगाको पाखापानी, धवलागिरिको मुना तोकिएको थियो भने अन्नपूर्णको वडा ६ नै भनेपनि घार भन्ने उल्लेख थियो । जनप्रतिनिधिहरुको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र परिर्वतन गर्ने निर्णय गरेपछि सरकारले त्यसलाई वैधानिकता दिएर सूचना प्रकाशित गरेको जनाईएको छ । रघुगंगा र धवलागिरिमा केन्द्रको विषय निकै पेचिलो बनेको थियो । दुबै स्थानमा बहुमतबाट केन्द्र परिर्वतन गर्ने निर्णय भएको थियो ।

सरकारले स्थायी केन्द्र निर्धारण गरेपछि रघुगंगा र धवलागिरिलाई कार्यालय सञ्चालन र योजनाका कार्यहरु अघि बढाउन बाटो खुलेको छ । निर्णय गरि केन्द्रमा पठाईएपनि लामो समयसम्म राजपत्रमा सूचना प्रकाशित नभएपछि दुबै गाउँपालिकाहरुको काम निकै प्रभावित भएको थियो । केन्द्र अन्र्योलकै कारण रघुगंगा र धवलागिरिले बेनीबाटै सम्पर्क कार्यालय मार्फत योजना र दैनिक कामकाजको कार्य गदै आएको थियो । मौवाफाँट कायम गर्न सरकारलाई सिफारिस गरिएको थियो । जनप्रतिनिधीको सिफारिस अनुमोदन भएर आएकाले अब गाउँपालिका कार्यालय मौवाफाँट बाटै सञ्चालन गर्ने तयारी भएको गाउँपालिका प्रमुख भव बहादुर भण्डारीले बताए । भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरि मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरि सेवा प्रवाह गर्ने बताए ।

रिखार दैनिक