राजपत्र प्रकाशित गर्दै रघुगंगा गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट कायम

  • २५ पुष २०७४, मंगलवार
  • कमल खत्री
  • 5157 पटक पढिएको

म्याग्दी, २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट कायम भएको छ । गाउँपालिकामा बहुमत जनप्रतिनिधिहरुले गरेको निर्णय बमोजिम सरकारले मंगलवार राजपत्रमा प्रकाशित गरि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट कायम गर्ने निर्णयलाई बैधानिकता दिएको हो । तत्कालिन स्थानीय तह पुर्नसंरचना आयोगले गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकेर निर्वाचन सम्पन्न गराएपनि निर्वाचित जनप्रतिनिधिहरुको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र मौवाफाँट कायम गर्न सरकारलाई सिफारिस गरिएको थियो ।


‘‘ गाउँपालिकाबाट आएको निर्णयलाई तिरन्तर ताकेता गरि राजपत्रमा प्रकाशित गर्न सफल भयौँ, बहुसंख्यक नागरिकको चाहना बमोजिम केन्द्र कायम भएको छ,’’– काठमाण्डौमा रहनुभएका काँग्रेसका युवा नेता शिब केसीले भन्नुभयो । सरकारले हालै बसेको मन्त्री परिषद बैठक मार्फत जनप्रतिनिधिको बहुमतबाट केन्द्र परिवर्तनको लागि गएको सिफारिसलाई अनुमोदन सहित राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको थियो ।


गत भदौ पहिलो साता बसेको गाउँपालिकाको दोस्रो गाउँ सभाको बैठको थियो । गाउँसभाका ४३ जना मध्ये ४२ जनाको सहभागिता रहेको सो बैठकमा मौवाफाँटको पक्षमा २६ जना र पाखापानीको पक्षमा ४ जनाले हस्ताक्षर गरेका थिए भने ११ जना जनप्रतिनिधिहरुले सो निर्णयप्रति असहमती जायर गरेका थिए । सो निर्णय कार्यान्वयन सम्बन्धमा सरकार समक्ष सिफारिस गरिएकोमा सो सिफारिस अनुमोदन भएर आएकाले अब गाउँपालिका कार्यालय मौवाफाँट बाटै सञ्चालन गर्ने तयारी भएको गाउँपालिका प्रमुख भव बहादुर भण्डारीले बताउनुभयो ।
गाउँपालिका केन्द्रको अन्यौलताले अहिलेसम्म गाउँपालिकाको कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको थियो ।

गाउँपालिका प्रमुख भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरि मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरि सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि झिँ हुँदै पाखापानी सम्मको लागि सडक सञ्जालले जोड्नको लागि तत्काल आबश्यक प्रकृया सुरु गर्ने समेत बताउनुभयो । यसैबिच मंगलवार प्रकाशित भएको राजपत्रमा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर र धौलागिरि गाउँपालिकाको केन्द वडा नम्बर ३ सातमुले, घट्टेखोला कायम गर्ने उल्लेख गरिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l