मनाङमा अधिक चिसोले खोला र झरना नै जमे !

  • २४ पुष २०७४, सोमबार
  • 2338 पटक पढिएको

लमजुङ — हिमाली जिल्ला मनाङमा अत्याधिक चिसोका कारण ठाडो खोलाका पानी जम्न थालेको छ । बगेको पानी चट्टान जस्तै साह्रो बनेको छ । मनाङको चामेमाथिका ठाडोखालामा बग्दै गरेको पानी जमेको स्थानीयले बताए । मर्स्याङ्दी नदीको छेउछाउ पनि जमेको स्थानीयले बताएका छन् । चामेकी खरिमाया गुरुङका अनुसार पिउनको लागि हिउँ पगाल्नु परेको छ। पाइपभित्र पानी जमेकाले धारा बन्द छन्। मानिसहरु बाहिर निस्कन सकेका छैनन्। ‘सिंगो बजार सुनसान छ। ढोकाहरु बन्द छन्। २ वटा पसलमात्रै खुले,’ उनले सोमबार कान्तिपुरसित भने। ‘चिसो बढेपछि कोही बेंसी झरे। बेंसी नझरेकाहरु झ्यालढोका थुनेर घरमै बसेका छन्,’ उनले भने।

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले चिसो अत्याधिक बढेपनि आफू कार्यालयमै रहेको बताए। ‘जाडो त हरेक बर्ष हुन्छ नै। यसपटक अलि बढीजस्तो छ,’ उनले भने। चिसो बढेपछि बाटोमा हिँडडुल पनि कम हुन थालेको छ। स्थानीयका अनुसार जाडो छल्न स्थानीयसँगै जनप्रतिनिधि समेत राजधानी गएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार रातीको समय मनाङ गाउँमा तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म झरेको छ।
थोराङफेदी, खाङसारतिर माइनस २० सम्म झरेको उनले बताए। ‘साँझबिहान समेत माइनस १०–१२ डिग्री सेल्सियसको हाराहारीमा छ। बाहिर निस्कने न त्यस्तै हो, काम गर्न पनि सकेका छैनौं’ उनले भने। उनले चिसोका कारण माथिल्लो मनाङका अधिकांश काठमाडौं झरिसकेको र भएका पनि बाहिर निस्कन नसकेको बताए। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सोमबार बिहान ७ बजे माइनस १२ डिग्री सेन्टीग्रेटको तापक्रम रेकर्ड गरिएको बताए। ‘यहाँ दिनभरी सिरक ओडेर सुत्नुबाहेक कुनै उपाय छैन। काम गर्न सकिएको छैन,’ उनले भने, ‘धारा, खोला सबै जमिसक्यो। घाम लागेको बेला अलिअलि तापक्रम बढ्छ। नत्र घटेकै छैन।’ चिसोका कारण सेवाग्राही पनि कम आएको उनले बताए। सोमबार २ वटा नागरिकता प्रदान गरेको र एउटा पासपोर्टका लागि सिफारिस गरेको उनले बताए।                                          साभार: www.kantipurdaily.com