मलेसियाले अवैधानिक कामदार फर्कने समयावधि थपियो

  • २३ पुष २०७४, आईतवार
  • 1791 पटक पढिएको

क्वालालम्पुर — मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि ६ महिना थप गरेको छ । मलेसियाले पछिल्लोपटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएको थियो ।

स्थानीय संचारमाध्यमका अनुसार उक्त अवधि सकीएसँगै उसले पुन: अर्को ६ महिना (यसै वर्ष जुन ३०) सम्मका लागि समयावधि थप गरेको हो ।

अवैधानिक आप्रवासी कामदारहरु हटाउन यसअघि विभिन्न चरणमा आममाफी, वैधता कार्यक्रम र फिर्ती कार्यक्रम लगायतका थुप्रै अवसरहरु दिइसकेको छ ।

क्वालालम्पुरस्थित नेपाली दुतावासका अनुसार ‘माईईजी सर्भिसेज बर्हाड’ लगायत विभिन्न ८ कम्पनीहरुले मलेसियाली अध्यागमन विभागसँग सहजीकरण गरी गैरकानुनी कामदारलाई घर फर्काउन सरकारी अनुमति पाएका थिए ।

विगत एक बर्षको अवधिमा करिब १६ हजार अवैधानिक नेपाली कामदार स्वदेश फर्कीसकेका दूतावासले जनाएको छ । मलेसियाली सरकारले दिएको उक्त कार्यक्रमको मौका छोप्दै उनीहरु स्वदेश फर्केका हुन् ।

हाल दैनिक सय जनाको हाराहारीमा नेपालीहरु स्वदेश फिर्तीका लागि यात्रा अनुमतिपत्र लिन दुतावास पुग्ने गरेका छन् । यात्रा अनुमतिपत्र लिएपछि उनीहरु आउटपासका लागि अध्यागमन विभागमा जानुपर्ने हुन्छ ।

तर उनीहरु पक्राउ परिने डरले आफैं अध्यागमन विभाग जाँदैनन् । त्यहाँ जान अधिकांश दलालको साहारा लिने गरेका छन् भने कतिपय सहजीकरणका लागि सरकारी मान्यता पाएका कम्पनीका प्रतिनिधिको सहारामा आउटपास लिन पुग्ने गरेका छन् ।

करिब २० लाख आप्रवासी कामदार बैधानिक रुपमा कार्यरत रहेको मलेसियामा अझैं लाखौं कामदारहरु अवैधानिक अवस्थामा कार्यरत रहेको अनुमान छ । यहाँ करिब ४ लाख नेपाली बैधानिक रुपमा कार्यरत रहेका र हजारौं नेपाली अवैधानिक अवस्थामा कार्यरत रहेको हुनसक्ने ठानिएको छ ।

मलेसियाले त्यस्ता कामदारको संख्या घटाउन फिर्ती कार्यक्रम (थ्रि प्लस वान भोलेन्टर्ली प्रोग्राम) को समयावधि पटक–पटक थप गर्दै उनीहरुविरुद्ध खोजी अभियान समेत चलाउँदै आएको छ ।

-कान्तिपुर