धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग

  • २१ पुष २०७४, शुक्रबार
  • 1918 पटक पढिएको

म्याग्दी, २१ पुष । इटाली जाने क्रममा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीका धनमान पूर्जाका परिवारलाई बेल्जीयमबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार धनमानकी श्रीमती दालसुवा पूर्जालाई हस्तान्तरण गरिएको हो ।

बेल्जीयममा रहेका नेपालीहरुबाट ९३ हजार ६०० रुपैया संकलन भएको थियो । पुनद्धयले व्यक्तिगत रुपमा सोह् हजार चार सय रुपैया थप गरेर एक लाख दश हजार रुपैया उपलब्ध गराउनुभएको हो । वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको रोहबरमा बेनीमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । मानव तस्करको प्रलोभनमा परेर अबैध बाटो भएर इटाली जाने क्रममा गत कात्तिक १२ गते ३६ वर्षिय धनमानको बाटोमै निधन भएको थियो । लिवियाबाट ट्युवको डुङ्गामा राखेर इटाली लैजाने क्रममा पुर्जाको निधन भएको उनीसंगै गएका नेपालीहरुले एनआरएनए, स्विटजरल्याड स्थित नेपाली दुतावास मार्फत परिवारलाई खबर पठाएका थिए ।

आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै सदगद् गरेर परिवारले मगर संस्कार अनुसार काज किरीया गरेका थिए । धनमानको तिन छोरा र १ छोरी छिन् । १२ वर्षिय जेठा छोरा अपाङ्ग छन् । बालबालीकाको पालनपोषण र पढाईमा सहयोग पुगोस भनेर सहयोग गरिएको बेल्जीयमबाट आउनुभएका पुनद्धयले बताउनुभयो । २ वर्ष युएई र २ वर्ष बहराईनमा काम गरेका पुर्जा धेरै धन कमाउने दलालको प्रलोभनमा फसेर ऋण धन गरेर अबैध बाटो इटाली जान हिडेका थिए । बिदेश जाँदा लागेको ऋण तिर्ने, छोराछोरी पढाउने, घरब्यवहार चलाउने जिम्मेवारी दालसुवाको काँधमा आएको छ । खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका पुर्जा परिवार घरमुलीको निधनपछि समस्यामा परेका छन् ।