भूकम्प गएको ३२ महिनापछि निजी आवास पुननिर्माणको तयारी

  • १९ पुष २०७४, बुधबार
  • सन्तोष गौतम
  • 1809 पटक पढिएको

 

बेनी १९ पुष । म्याग्दीमा ३२ महिना अघिको भुकम्पका कारण क्षत्ती पुगेका निजी आवास पुननिर्माणको तयारी भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट कम प्रभावीतको सूचीमा राखेको म्याग्दी लगायत जिल्लामा प्राबिधिक खटाएपछि पहिलो किस्ता अनुदान बुझीसकेका भुकम्प प्रभावीतले निजी आवास निर्माण गर्ने बाटो खुलेको हो ।

प्राधिकरणले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा भुकम्पबाट क्षत्ती पुगेका निजी आवास पुननिर्माणमा सघाउन म्याग्दीमा ७ जना ईञ्जिनियर र सब ईञ्जिनियर परिचालन भएको जानकारी गराइएको थियो । प्राधिकरणको बागलुङ स्थित कार्यालयका प्रमुख भोगेश्वर लामीछानेले पहिलो किस्ता अनुदान बुझीसकेका भुकम्प पिडितले स्थानीय तहमा खटिएका प्राबिधिकसंग परामर्श गरेर निजी आवास पुननिर्माण सुरु गर्न सक्ने बताउनुभयो ।

पुननिर्माणको बारेमा बेनी नगरपालीकाका जनप्रतिनिधि र वडा सचिवहरुका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले पुननिर्माणको कामलाई तिब्रता दिन सबै पक्षले प्राथमिकता दिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र आयोजनाका मूल्याङ्कन बिशेषज्ञ डाक्टर योगेन्द्र रिजालले भुकम्पीय सुरक्षाका लागि मापदण्ड अनुसारका घर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख सञ्जु बरुवालको स्वागत र जिल्ला समन्वय समितिका सूचना अधिकृत पदम भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०७२ बैशाख १२ गतेको भुकम्पका कारण म्याग्दीका एक हजार ४०५ निजी घरमा क्षत्ती पुगेको एक वर्ष अघि गरीएको स्थलगत सर्वेक्षणबाट पहिचान भएको थियो । जस मध्य ८६८ घरधुरी अनुदान पाउने मापदण्डमा परेका छन् । छुटेकालाई सम्झौताका लागि अनुरोध गरिएको छ । पुननिर्माणमा सघाउन दक्ष जनशक्ति उत्पादन गर्न म्याग्दीमा डकर्मी तालीम सञ्चालन समेत गरिने भएको छ । ६४५ जनाले अनुदान सम्झौता गरेकोमा ६०० जनाले पचास हजार रुपैयाका दरले निजी आवास पुननिर्माणका लागि तिन करोड रुपैया भुक्तानी पाईसकेका छन् । पुननिर्माणलाई गति दिनका लागि जनप्रतिनिधिहरुसंग समन्वय गर्न यसअघि म्याग्दीका ५ वटै गाउँपालीकाका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको थियो ।

दोस्रो, तेस्रो र चौथो किस्ता पाउन लाभग्राहीले सरकारले तोकेको मापदण्ड अनुसारको भवन निर्माण र प्रक्रिया पु¥याउनुपर्ने छ । जग हालेपछि दोस्रो किस्तामा एक लाख पचास हजार, छाना छाउनुअघि तेस्रो किस्ता वापत ७५ हजार र शौचालय तथा बैकल्पीक उर्जाको व्यवस्थाका लागि २५ हजार रुपैया अन्तिम किस्ता उपलब्ध गराइने व्यवस्था रहेको छ । घर पुननिर्माण गरिसकेका भुकम्प पिडितले अनुदान पाउन भवन तोकिएको मापदण्ड अनुसारको भएको प्राबिधिकबाट प्रमाणीत र सिफारीस गराउनुपर्नेछ ।

 

सन्तोष गौतम