१६ औँ जेसीजकप फुटवलमा माउण्ट एभरेष्ट र वेष्ट प्वाइन्ट फाईनल प्रवेश (फोटो फिचर)

  • १७ पुष २०७४, सोमबार
  • कमल खत्री
  • 2215 पटक पढिएको

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट र न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्ट र केवी एकेडेमिलाई पराजीत गर्दै साविक उपबिजेता– न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा पक्का गरेका हुन् ।


खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५ गोल गर्दै माउण्ट एभरेष्ट र केवी एकेडेमी दरबाङलाई १ का विरुद्ध १० गोलको फराकिलो जित निकाल्दै न्यू वेष्ट प्वाइन्ट फाईनल प्रवेश गरेका हुन् । गत बर्षका बिजेता र उपबिजेता समेत रहेका यि दुई विद्यालयका खेलाडीहरु बिचको फाइनल खेल मंगलवार विहान ८ बजेदेखि सुरु हुने म्याग्दी जेसीजका उपाध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो ।


क्वाटरफाईनलमा प्रकाश माविलाई शुन्यका विरुद्ध १ गोल गरेको माउण्ट एभरेष्टले सेमिफाईनलमा बुद्ध एकेडेमिको रक्षात्मक खेललाई तोड्दै एकपक्षिय रुपमा ५ गोल गरेको थियो । त्यसैगरि क्वाटर फाइनलमा बेनी सामुदायिक माविलाई शुन्यका विरुद्ध ११ गोलको फराकिलो जित निकालेको न्यू वेष्ट प्वाइन्टले सेमिफाईनलमा पनि केवी एकेडेमिसंग पनि सहज जित निकाल्यो ।
बिगतमा तीन पटक सम्म फाईनलमा भिडेका यि दुई विद्यालय बिच हुने फाईनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । माउण्ट एभरेष्ट जेसीज कप फुटवलमा यस अघि चार पटक फाईनलमा पुगेर चारै पटक बिजेता बन्न सफल भएको छ भने न्यू वेष्ट प्वाइन्टले १० पटक सम्म फाइनल यात्रा तय गरि १ पटक बिजेता र ९ पटक उपबिजेता बन्न सफल भएको छ ।
मंगलवार हुने फाईनलमा न्यू वेष्ट प्वाइन्टका खेलाडीले बिगतका बर्षहरुमा फाइनलमा व्यहोरेको हारको बदला लिने रणनितीका साथ मैदान प्रवेश गर्नेछन् भने माउण्टले बिगतको जस्तै बिजयी हुने रणनितिका साथ मैदानमा खेलाडी उतार्नेछ ।
मंगलवार हुने फाइनल खेलमा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो ।
प्रतियोगिता समापन अबसरमा चौथो जेसीजकप फुटवलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई समेत सम्मान गरिने जेसीज कप फुटवल व्यवस्थापन समितिका अध्यक्ष एवम् म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो ।
बेनीमा कक्षा १० सम्मका विद्यार्थिहरुबिच प्रतिस्पर्धा हुने र हरेक बर्ष आयोजना हुने जेसीज कपलाई विद्यार्थी खेलाडीहरु र विद्यालयहरुले प्रतिष्ठाको रुपमा लिने गरेका छन् । करिब रु ५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको प्रमुख प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l