म्याग्दीमा स्वास्थ्य बिमामा सत्र सय परिवार आवद्ध

  • १६ पुष २०७४, आईतवार
  • सन्तोष गौतम
  • 2189 पटक पढिएको

म्याग्दी १६ पुष । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरीकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रममा म्याग्दीका करिब सत्र सय परिवार आवद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.स २०७३ पुष १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । एक वर्षको अवधिमा एक हजार ६७४ परिवारका सात हजार १६० जना स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका समितिका जिल्ला प्रबन्धक अर्जुन पण्डीतले जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा वापत ४३ लाख ७८ हजार ६२० रुपैया योगदान रकम संकलन भएको छ । स्वास्थ्य बिमा गरेका मध्य हालसम्म बेनी अस्पतालबाट दुई हजार ५१९ जनाले १३ लाख २९ हजार ९३६ रुपैया र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५१ जनाले एक लाख ५३ हजार ५२४ रुपैया बराबरको औषधी, उपचार सेवा प्राप्त गरेका समितिले जनाएको छ । धौगागिरी गाउँपालीका ७ ताकमका तुलसीनाथ सुवेदीले दुई हजार ५०० रुपैया शूल्क तिरेर स्वास्थ्य बिमा गरेर दश हजार रुपैया बराबरको उपचार सेवा निशूल्क प्राप्त गरेको बताउनुभयो । स्वास्थ्य बिमा गरेपछि आवश्यक परेको बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारको लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाएको सुवेदीले बताउनुभयो ।

बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरी अञ्चल अस्पताल बागलुङका साथै ति स्वास्थ्य संस्थाले सिफारीस गरेमा सूचीकृत भएका काठमाडौ, पोखरा लगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ । पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार दुई हजार पाँच सय रुपैया तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य चार सय पच्चिसका दरले थप रकम शूल्य तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सकिन्छ ।  पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजार रुपैया सम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही १० हजार गरी बढीमा एक लाख रुपैया सम्मको सेवा पाइने बताइएको छ ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसीमका सेवा पाउने छन् । वडा स्तरमा खटिएका दर्ता सहयोगी मार्फत स्वास्थ्य बिमा गर्न सकिन्छ । म्याग्दीमा ४३ जना दर्ता सहयोगी परिचालन भएका छन् । ४ नम्बर प्रदेशको म्याग्दी, बागलुङ, कास्की, तनहुँ र गोरखा सहित देशका २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ ।

सन्तोष गौतम