अष्ट्रेलियामा सर्वाधिक पुरस्कार राशीको भलिबल सम्पन्न,ढोरपाटन क्लब र छन्त्याल परिवार बिजयी

  • ३ पुष २०७४, सोमबार
  • 3174 पटक पढिएको

म्याग्दी, ३ पुस । म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आईतवार सम्पन्न भएको छ । बिशेष गरि अष्ट्रेलियामा बस्ने म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश साविकका गाविसबासीहरुको पहलमा अष्ट्रेलियाको सिड्नीमा सन २०१२ मा स्थापित म्याग्दी जलजला परिवारको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको जलजला परिवारले आयोजना गरेको एकदिवसीय सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ४ टिमले सहभागीता जनाएका थिए । अष्ट्रेलिया मा रहेका विभिन्न नेपाली संघ संस्थाहरुबिचमा भएको सो प्रतियोगितामा पुरुषतर्फ ढोरपाटन क्लब प्रथम र छन्त्याल परिवार द्धितिय हुन सफल भएका छन् । त्यस्तै महिलातर्फ मगर समाज प्रथम र छन्त्याल परिवार द्धितिय हुन सफल भएका छन् ।

पुरुष र महिला भलिबल दुबैको फाईनलमा बिजेता टिमले लगातार तिन सेट हात पार्दै बिजयी भएका हुन् । पुरुषतर्फ छन्तयाल परिवारका विनोद काउचा र महिलातर्फ मगर समाजकी समिक्षा थापा उत्कृष्ट खेलाडी घोषीत भएका छन् । सो प्रतियोगितामा पुरुष भलिबलमा बिजेतालाई नगद १ हजार ६०५ अष्ट्रेलियान डलर (नेपाली रु १ लाख ३३ हजार बढी) सहित खसी र उपबिजेतालाई ९ सय ५ अष्ट्रेलियान डलर (नेपाली रु ७५ हजार बढी) सहित खसीको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

त्यस्तै महिला भलिबलमा प्रथमलाई ५ सय अष्ट्रेलियन डलर र उपबिजेतालाई ३ सय अष्ट्रेलियान डलर सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यस्तै मोना अष्ट्रेलियाको टिमलाई अनुशासित टिमको रुपमा घोषित गरिएको थियो । उत्कृष्ट र प्रतिस्पर्धात्मक खेलको अवलोकनको लागि समेत उल्लेख्य मात्रामा दर्शकहरुको उपस्थिती रहेको थियो ।


म्यारिकभिल स्थित खेलकुद हलमा भएको सो प्रतियोगितामा बिजेता र उपबिजेताहरुलाई आईतवार नै कार्यक्रमका बिशेष अतिथिहरुबाट पुरस्कार वितरण गरिएको छ । म्याग्दी जलजला परिवारका अध्यक्ष दिपक भण्डारीको अध्यक्षता र सचिब माधव सुवेदीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, मोना अष्ट्रेलियाका अध्यक्ष हरि राम्जाली लगायत प्रतियोगिताका प्रथम पुरस्कार प्रायोजक रेष्ट फङ्सन सेन्टर र दोस्रो पुरस्कार प्रायोजक एएलडी करपोरेटका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।