घलेम्दीखोला जलविद्युत आयोजनाको विद्यूत्गृह निर्माण सुरु (फोटो फिचर)

  • २९ मंसिर २०७४, शुक्रबार
  • कमल खत्री
  • 2070 पटक पढिएको

म्याग्दी, २९ मंसिर । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन ५ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्यले तिब्रता पाएको छ । आगामी ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य सहित पूर्वाधार निर्माणलाई तिब्रता दिएको आयोजनाले पावरहाउस (विद्यूत्गृह) निर्माण कार्य सुरु गरेको छ ।

विहिवार विद्युतगृहको घलेम्दीखोला जलविद्यूत आयोजनाका सञ्चालक एवम प्रबन्धक निर्देशक प्रमोद श्रेष्ठले शिलन्याश गर्नुभएको हो । अन्नपूर्ण हिमालको फेदीमा रहने बाँधबाट १ हजार ७०० मिटर लामो सुरुङमार्ग हुँदै ल्याईने पानीलाई निलगिरि खोलाको किनारमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्यूत उत्पादन गर्ने तयारी गरिएको छ ।

विद्यूतगृहको निर्माण कार्य सम्पन्न गर्न करिब ४ महिना लाग्नेछ । खोलाको किनारमा नदी कटानलाई रोक्न पक्कि पर्खाल निर्माण गरिएको र विद्युतगृह संगै कर्मचारी आवास गृहको समेत निर्माण कार्य थालिएको आयोजनाको प्रवन्ध निर्देशक श्रेष्ठले बताउनुभयो ।

आयोजनाको सुरुङमार्ग, मुख्य बाँध, बाँधदेखि पोखरी सम्मको नहर निर्माण कार्य सम्पन्न भईसकेको छ भने बालुवा थिग्राउने पोखरी र मुख्य बाँधको काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको यस अयोजनाको आगामी चैतभित्रमा पूर्वाधारको काम सम्पन्न हुने कम्पनी सचिब बिमल रिजालले बताउनुभयो ।

पूर्वाधार निर्माण गरि टर्वाइन, जेनेरेटर लगायतका मेसीन तथा उपकरण जडान पश्चात आगामी असारमा आयोजनाबाट परिक्षणको रुपमा विद्युत उत्पादन हुने आयोजनाको दावि छ । जिल्लाकै उद्योगी व्यवसायीहरुको नेतृत्वमा २०७१ सालबाट निर्माण सुरु भएको यस आयोजनामा अहिले झण्डै १५० भन्दा बढी कामदार कार्यरत छन् ।

कुल लागत रु ८५ करोड रहेको यस आयोजनमा रु ३८ करोड ५० लाख संस्थापक शेयर संकलन भएको छ भने बाँकी झण्डै ४५ करोड रुपैयाँ भिबोर सोसाइटी विकास बैँक, सिद्धार्थ विकास बँैक, सिदार्थ रिटायरमेण्ट फण्ड र टुरीजम डेभलपमेण्ड बैँकले लगानी गर्नेछन् ।

नेपाल विद्युत प्राधिकरणले दानामा निर्माण गर्न लागेको सब स्टेशनको पूर्वाधार तयार नहुँदा सम्म यस आयोजनाबाट उत्पादीत विद्यूत नारच्याङकै घरापमा रहेको सब स्टेशन मार्फत केन्द्रिय प्रशारण लाईनमा जडान गरिनेछ । तस्बिर : बिमल रिजाल

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l