चुनावको मुखमा म्याग्दीमा नक्कली नोटको बिगबिगी

  • ४ मंसिर २०७४, सोमबार
  • 2089 पटक पढिएको


म्याग्दी, ४ मंसिर । आगामी हप्ता हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मुखैमा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ ।

गत शुक्रबार बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थामा (च २५) ४३६१३३ नम्बरको एक हजार रुपैयाको नक्कली नोट भेटिएपछि बिगबिगी बढेको हो । जिल्ला प्रहरी कार्यालयले नक्कली नोटको अनुसन्धान भैरहेको जनाईरहेका बेला सोमबार एमाले निकट युवा संघ र माओवादी केन्द्र निकट वाईसीएलले पत्रकार सम्मेलन गरेर उक्त घटनाप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वाईसीएलका अध्यक्ष कुमार थापाले चुनावमा सिधासाधा जनतालाई प्रभावमा पार्नेहरुले नक्कली नोटको प्रयोग गरेको गरेको हुन सक्ने भन्दै सचेत हुन अपिल गर्नुभयो । यसअघि स्थानीय तह निर्वाचनको समयमा पनी बेनी अस्पतालको फार्मेसीमा पाँच सय रुपैयाका नक्कली नोट भेटिएको थियो ।

चुनावको समयमा नक्कली नोट फेला पर्नु गम्भिर विषय भएको बताउँदै संयुक्त युवा परिचालन समितिका संयोजक प्रकाश पौडेलले यस्ता गैरकानुनी क्रियाकलाप गर्नेहरुको पहिचान गरि कारबाही गर्न प्रशासनसंग माग गर्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने सघाउन प्रतिवद्ध रहेको बताउँदै राज्यशक्तीको दुरुपयोगको प्रयास भएमा हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभएको छ ।

युवा संघ नेपालका सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माले स्वस्थ्य एवं शान्तिपूर्ण प्रतिस्पर्धाको सम्मान गर्ने तर पैसा, गुण्डा तथा राज्यशक्तिको दुरुपयोग भएको टुलुटुलु हेरेर नबस्ने बताउनुभयो । यसैबिच युवा संघ र वाईसीएलले व्यक्तिगत सुरक्षाका लागि अनुमती लिएर राखिएका हतियार नबुझाएको र संकलनमा बेवास्ता भएकोप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

एक महिना अघिनै प्रशासनले चुनावी प्रयोजनका लागि हतियार बुझाउन सार्वजनिक सूचना मार्फत आग्रह गरेपनि गत शुक्रबार सम्म १९ जनाले मात्र बुझाएका थिए । म्याग्दीमा व्यक्तिगत सुरक्षाका लागि ८२ जनाले हतियार राखेका प्रशासनले जनाएको छ । ति हतियार बुझाउन अटेरी र बेवास्ता गर्नुले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ भन्ने विषयमा शंका उब्जाएको युवा संघका नेता विश्वकर्माले बताउनुभयो ।