वाम गठबन्धनको प्रदेशसभा २ नम्बरमा अभियान जारी

  • २४ कार्तिक २०७४, शुक्रबार
  • 1813 पटक पढिएको

वाम गठबन्धनको प्रदेशसभा अन्तर्गत २ नम्बर क्षेत्रमा अभियान जारीरहेको छ । आसन्न चुनावमा तालमेल र त्यसको लगत्तै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त टोलीले प्रदेशसभा २ अन्तर्गत विभिन्न ठाउँमा चुनावी अभियानलाई तिब्रता दिएको छ । वाम गठबन्धनको टोलीले बिहीबार मङ्गला गाउँपालिका–२ हिदी, १ नम्बर वडाको थाईबाङ र तुसारपानीमा मतदाता भेटघाट तथा कार्यकर्ता भेला सम्पन्न गरेको जनाएको छ । भेलालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री तथा प्रदेशसभा २ का उम्मेदवार नरदेवी पुनले यसअघि आफूले सुरु गरेका विकास निर्माणका कामलाई पूर्णता दिन फेरी चुनावी मैदानमा होमिएको बताइन् ।

उनले आफ्नो जीवनको आधाभन्दा बढी समय राजनीति र समाजसेवामा लगाएको भन्दै फेरी पनि जनताकै सेवाका लागि अगाडि बढेको बताएकी छिन् । उनले अब देशको आर्थिक समृद्धिमार्फत विकास निर्माणमा केन्द्रीत हुनुपर्ने समय आएको बताउँदै राष्ट्रको चौतर्फी विकासका लागि स्पष्ट नीति र भिजन वामपन्थी पार्टीसँग मात्रै भएको स्पष्ट पारेकी छिन् । सोही कार्यक्रममा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य देवराज सुवेदी, एमाले–काठमाडौं सम्पर्क मञ्चका पूर्वअध्यक्ष बलभद्र ढकाल र एमाले म्याग्दीका लेखा आयोग कमिटी संयोजक चन्द्रकुमार केसीले देशमा वामपन्थी सरकारले जनपक्षीय काम गरेको हुँदा यसपाली पनि वाम गठबन्धनलाई जिताउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।

हिदीमा भएको कार्यक्रमको माओवादी केन्द्रका वडा संयोजक कुलप्रसाद पुनले अध्यक्षता र मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले सञ्चालन गरेका थिएभने माओवादीका स्थानीय नेता बालु पूर्जाले मन्तव्य राखेका थिए । वाम गठबन्धनको उम्मेदवारसहितको प्रचार टोलीले थाईबाङ र तुसारपानीमा मतदाता भेटघाट र कार्यकर्ता भेलालाई निरन्तरता दिएको मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिएकी छिन् ।