शिक्षा कार्यालयको टोलीद्धारा विद्यालयको अनुगमन

  • २० कार्तिक २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2485 पटक पढिएको

 

बेनी २० कात्तिक । जिल्ला शिक्षा कार्यालयको टोलीले म्याग्दीको धौलागिरी गाउँपालीकामा रहेका सामुदायीक विद्यालयहरुको स्थलगत अनुगमन गरेको छ ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ नेतृत्वको टोलीले गुर्जा, लुलाङ, मुना र ताकममा रहेका ७ वटा सामुदायीक विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय अवस्थाको बारेमा अनुगमन गरेको हो ।

टोलीमा नेपाल शिक्षक संघका अध्यक्ष तथा स्रोतव्यक्ति दुर्गाराम सुवेदी, नेपाल शिक्षक संगठनका अध्यक्ष जयराम सुवेदी, स्रोतव्यक्ति केशवप्रसाद रेग्मी र गिरीप्रसाद छन्त्यालको पनी सहभागीता रहेको थियो ।

दुर्गमका विद्यालयको अनुगमन नभएको र सदरमुकाम नजिकका विद्यालय मात्र अनुगमन भएको गुनासो बढीरहेका बेलामा शिक्षा कार्यालयको टोली जिल्लाकै सबैभन्दा बिकट बस्ती गुर्जामा पुगेको हो ।

अनुगमनको क्रममा विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापीकय अवस्थाको विषयमा जानकारी लिने, प्रअ, शिक्षक र व्यवस्थापन समितिका पदाधीकारीसंग छलफल गरी आवश्यक सुझाव निर्देशन दिइएको टोलीमा सहभागी स्रोतव्यक्ति दुर्गाराम सुवेदीले बताउनुभयो ।
किसानी मावी धारापानी, हेम मावी शिवाङ, धनजनता मावी फलीयागाउँ, धौलागिरी आधारभुत विद्यालय मुना, लमसुङ मावी, लुलाङ आधारभुत र जनकल्याण मावी गुर्जाको अनुगमन गरिएको हो ।

अनुगमनमा पुगेको शिक्षा कार्यालयको टोलीलाई प्रअ तथा व्यवस्थापन समितिका पदाधीकारीहरुले कक्षा कोठा भवन, मर्मत र शिक्षक दरबन्दिको व्यवस्था मिलाउन आग्रह गरेका थिए । सोही अवसरमा धौलागिरी गाउँपालीका १ गुर्जालाई साक्षर वडा समेत घोषणा गरिएको थियो ।

 

सन्तोष गौतम