राप्रपा र गौचन दाजुभाईको रमिता ! तीन राप्रपा एक अर्का विरुद्ध उम्मेदवारी

  • ५ कार्तिक २०७४, आईतवार
  • 6692 पटक पढिएको

म्याग्दी, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन केन्द्रिय सदस्यद्धय समेत रहेका भिमप्रसाद गौचन र जगत प्रसाद गौचन एकै घरका दुई दाजुभाई हुन् । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानी घर भएका गौचन दाजुभाई राप्रपा विभाजन संगै फरक फरक पार्टीमा पुगेका छन् । उनीहरुको फरक फरक पार्टीको नेतृत्वले आईतवार म्याग्दीमा भएको मनोनयन दर्तामा एकले अर्का विरुद्ध उम्मेद्वारी दर्ता समेत गरेका छन् । जुन दृष्यलाई मनोनयन दर्ता स्थलमा धेरैले ‘घरैका रमिते’ भनेर कानेखुसी गरिरहेका थिए ।

जगत प्रसाद गौचन पूर्व सहायक मन्त्री र भिमप्रसाद पूर्व राज्यमन्त्री समेत बनिसकेका व्यक्ति हुन् । तर केन्द्रमा जस्तै जिल्लामा पनि राप्रपा आफै साँघुरिँदै गएको अबस्थामा विभाजित पार्टीबाट गौचन दाजु भाईले एकले अर्का विरुद्ध उम्मेवद्वारी दिनुले उनीहरुको शक्ति आफै कमजोर हुँदै जानु हो । काँग्रेससंगको तालमेलबाट राप्रपाका भिमप्रसाद गौचनले प्रदेश सभा सदस्यको क्षेत्र नम्बर १ मा उम्मेद्वारी दिएका छन भने सोहि पदमा राप्रपा प्रजातान्त्रिकको तर्फबाट जगतप्रसाद गौचनले बलबहादुर सुनारलाई उम्मेदवारी दर्ता गराउन लगाएका थिए ।

पछिल्लो पटक पार्टी विभाजनमा समेत जगतप्रसाद गौचनले भित्री रुपमा भूमिका खेलेका थिए । म्याग्दीमा राप्रपा एकिकृतको तर्फबाट समेत प्रदेशको क्षेत्र नम्बर १ मा रामबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।

यसरी हेर्दा प्रदेश सभा सदस्यमा प्रदेश नम्बर १ मा काँग्रेससंगको तालमेलबाट उम्मेदवारी दिएका भिमप्रसादलाई यस पटकको निर्वाचन फलामको चिउरा उनैका आफन्त र उनैका पूर्व सहकर्मीहरुले बनाउने देखिएको छ ।

अर्कोतर्फ गौचनलाई काँग्रेसले सघाउने केन्द्रिय स्तरको सहमतीका विरुद्ध जिल्ला स्थित काँग्रेस कार्यकर्ता रुष्ट र आर्कोसीत बनेका छन् । जुन कुरालाई काँग्रेसबाट टिकट पाउने अन्तिम कसरतमा जुटेर पनि नपाएका केवी भण्डारी र नेत्रबहादुर महतले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुले पनि पुष्टि गर्छ । अहिले प्रदेशको क्षेत्रनम्बर १ मा बाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका विनोद केसि निकै बलिया उम्मेदवारको रुपमा देखिएका छन् ।