म्याग्दीमा उमेद्वारको टुङ्गो यसरी लगाए दलहरुले

  • ४ कार्तिक २०७४, शनिबार
  • सन्तोष गौतम
  • 2982 पटक पढिएको

 

म्याग्दी ४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीका प्रमुख राजनितिक दलहरुले उमेद्वारको टुङ्गो लगाएका छन् ।  तिहारसंगै दलहरुलाई आईतबार हुने मनोनयन दर्ताको तयारीको चटारो परेको छ । चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र (माओवादी केन्द्र)ले जिल्लाको एक प्रतिनिधिसभा र प्रदेशसभाको २ क्षेत्रका लागि शुक्रबार उमेद्वार चयन गरेका हुन् ।

म्याग्दीमा प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र प्रदेशसभाको क्षेत्र नम्बर २ मा पुर्व सांसद नरदेवी पुनलाई केन्द्रिय कमिटिले उमेद्वार चयन गरेको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । प्रदेशसभाको क्षेत्र न. १ पाएको माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार बनाउने भएको छ । उमेद्वार चयनसंगै एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचारको तयारी गरेका छन् ।

म्याग्दीमा नेपाली काँग्रेसले प्रतिनिधिसभामा जिल्ला सभापती खम्बिर गर्बुजा र प्रदेशको क्षेत्र नम्बर २ मा अमलाल फगामीलाई उमेद्वार चयन गरेको छ । प्रदेशसभाको क्षेत्र नम्बर १ मा भने काँग्रेसले राप्रपालाई सघाउने भएको छ । राप्रपाबाट केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचन प्रदेशसभा उमेद्वार बन्नुहुने भएको छ । नेपाली काँग्रेस र राप्रपाबीच चुनावी तालमेलका क्रममा प्रदेशसभाको म्याग्दी क्षेत्र नम्बर १ मा राप्रपालाई सघाउने केन्द्रिय समितिले निर्णय गरेको भन्दै काँग्रेसका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् । मनोनयन दर्ताका लागि सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

सन्तोष गौतम