गरिबी निबारणको लागि सहकारी सहयोगी बन्नुपर्छः राज्यमन्त्री खड्का

  • २१ आश्विन २०७४, शनिबार
  • कमल खत्री
  • 4792 पटक पढिएको

म्याग्दी, २१ असोज । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले विपन्न र आर्थिक रुपमा पछाडी परेका समुदायको उत्थानको लागि सहकारीले सहयोगी भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । महिलाहरुको मात्रै लगानी र नेतृत्वमा सञ्चालीत बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको छैठौँ बार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै राज्यमन्त्री खड्काले सो कुरामा जोड दिनुभएको हो ।


सहकारीका अध्यक्ष जमुना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले महिलाहरुको शसक्तिकरण र आर्थिक उन्नतीको लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ‘‘ अहिले पनि ग्रामीण भेगमा नौलो मान्छे देखेमा महिलाहरु बोल्न नसक्ने अबस्थामा छन्, उनीहरुको आर्थिक, सामाजिक रुपान्तरणको लागि सहकारीले सहयोग गर्नुपर्छ, महिलाहरुको नेतृत्वले मात्रै समाजको चौतर्फी परिवर्तन सम्भव छ,’’– राज्यमन्त्री खड्काले भन्नुभयो ।


सहकारीहरुले बचत र ऋणको कारोबार संगै उत्पादनशिल क्षेत्रमा लगानी बढाउँदै महिलाहरुलाई उत्पादन, रोजगार र आत्मनिर्भरको बाटो तर्फ लैजान जरुरी रहेको उहाँले बताउनुभयो । दिदी बहिनी सहकारीले आपत विपत तथा समस्यामा परेकाहरुको राहतका लागि स्थापनादेखि नै सञ्चालन गर्दै आएको मुठिदान अभियान निकै लोकप्रिय रहेको भन्दै आगामी दिनमा समेत यसलाई निरन्तरता दिन राज्यमन्त्री खड्काले आग्रह गर्नुभयो ।


एक फरक प्रशंगमा सहकारी राज्यमन्त्री खड्काले कतिपय सहकारीहरुमा विकृति मौलाएको कारण त्यस्ता विकृतिलाई रोक्नका लागि सहकारी ऐन आएको उल्लेख गर्दै ऐनलाई समयसापेक्ष रुपमा शंसोधन गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो । सो अबसरमा छिमेकी जिल्ला बागलुङ निवासी राज्यमन्त्री खड्कलाई महिलाहरुको नेतृत्व गर्दै मुलुको उच्च ओहोदामा पुगेको भन्दै सहकारीले सम्मान समेत गरेको थियो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l