काँग्रेस म्याग्दीद्धारा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवार सिफारिस

  • १९ आश्विन २०७४, बिहीबार
  • कमल खत्री
  • 6503 पटक पढिएको

म्याग्दी १९ असोज । आगामी मंरि १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । पार्टीको तर्फबाट उम्मेदवार बन्नेहरुको नामावली संकलन गरि काँग्रेस जिल्ला कार्य समितिको बैठकबाट उम्मेदवारहरुको टुङ्गो लगाएर पार्टी केन्द्रीय समितिमा रिफारिस गरिएको हो । काँग्रेस म्याग्दीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारमा पार्टी सभापती खम्बीर गर्बुजा र यूवा नेता अमृतमान शेरचनको नामा सिफारिस गरेको छ ।

यसैगरी, प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्येक्षमा रेशम बहादुर बानियाँ, नेत्र बहादुर महत र केबी भण्डारीलाई सिफारिस गरिएको छ । त्यसैगरि प्रदेशको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा क्याप्टेन अमलाल फगामीको एक्लो नाम सिफारिस गरिएको काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजाले जानकारी दिनुभयो । प्रत्येक्ष तर्फको उम्मेदवारको रुपमा सिफारिसमा परेका खिमबहादुर पुर्जाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि फगामी पार्टीबाट सर्वसम्मत उम्मेदवार बन्ने भएका हुन् ।

पार्टीबाट उम्मेदवारमा सिफारिस भएकाहरुको नामावली सार्वजनिक गर्न विहिवार विहान आयोजित पत्रकार सम्मेलनमा पुर्जाले उम्मेदवारी फिर्ता लिने घोषणा गरेपछि पत्रकार सम्मेलन स्थगित गरि जिल्ला कार्य समितिको बैठक बसेको थियो । बैठकले पुर्जाको उम्मेदवारी फिर्तापछि पार्टीको तर्फबाट २ नम्बरमा सर्वसम्मत रुपमा फगामीलाई उम्मेदवार बनाउने र अन्य उम्मेदवारहरु यथावत रहने गरि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।

काँग्रेस म्याग्दीले प्रतिनिधि सभाको समानुपातिकतर्फ क्याप्टेन मिन बहादुर कार्की, बिमला गौचन, त्रिलोकचन्द्र विश्वासको नाम सिफारिस भएको छ भने प्रदेशतर्फ क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा मुकुन छन्त्याल, मन कुमारी विश्वकर्मा र रविन्द्र गर्बुजाको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेशको २ नम्बर निर्वाचन क्षेत्रको लागि समानुपातिक तर्फको उम्मेदवारमा तम बहादुर थापा, डिल बहादुर केसी, दिर्घ बहादुर सुनार, कमरा कामी पटेल, उदिम बहादुर पुनको नाम केन्द्रमा पठाइएको छ । यसैबिच जिल्लाबाट नेकपा माओवादी केन्द्रले प्रतिनिधि र प्रदेश सभाको लागि पत्येक्ष र समानुपातीक तर्फका सम्भावित उम्मेदवारहरुको नामावली सिफारिस गरिसकेको छ भने उम्मेदवारहरुको टुंगो लगाउन नेकपा एमालेको जिल्ला कमिटीको बैठक आजदेखि बेनीमा सुरु भएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l